माओवादी द्धन्द्धकालमा विस्थापित भएका शैल्यशिखर नगरपालिका–१ का ३९ वर्षीय देवसिह धामी घर फर्किनुभएको छ । ०५९ सालमा १७ वर्षको उमेरमा विस्थापित भएका धामी विस्थापित भएको २२ वर्षपछि घर फर्किनु भएको हो ।
माओवादीबाट यातना पाएर गाउँ छोडि भारत पसेका धामी गाउँ फर्किएपछि वडाध्यक्ष भरतबहादुर खडायतले स्वागत गर्नुभयो । गाउँमै पुनस्र्थापित जीवन बिताउने धामीको इच्छा अनुसार अहिले परिवारको जिम्मा लगाइएको छ ।
‘मलाई राम्रोसँग याद पनि छैन, सुराकी कि के गरेको भन्थे,’ उहाँले भन्नुभयो, गोकुले बजारमा बन्द कोठामा कुट्दाकुट्दै म¥यो होला भनेर छोडेका हुन् । माओवादी लडाकुको कुटाइले म चल्न सक्ने अवस्थामा थिएन् । एक जना माओवादीले मरिसक्योे यस्को व्यवस्था भोलि विहान गरौला भनेर मलाई त्यहीँ छोडेको अहिले पनि ताजै जस्तो लाग्छ, उहाँले सुनाउनु भयो ।

माओवादीले मरिसक्यो भनेर छोडेका देव चौलानी नदी पार गरी बैतडी जिल्ला हुदै भारतको सीमला पहाड पुगेको बताउनु हुन्छ । उहाँलाई कहाँबाट कहाँ पुगे भन्ने यकिन थाहा छैन् । लुकिछिपी भारत पुगेपछि उहाँले भारतका बिभिन्न ठाउँमा काम गरेर गुजारा गरेको बताउनु भयो ।
बजार क्षेत्रमा माओवादी आइहाल्छन कि भन्ने लागेपछि भारतको सिमलाको बिभिन्न गाउँमा लुकेर बसेको धामीले दुखेसो पोख्नु भयो । ‘अहिले पनि देशमा शान्ती भइसक्यो भन्ने कुरा थाँहा थिएन् । घर आउन मन त लाग्थ्यो तर माओवादीको कुटाई सम्झिदा सबै कुरा बिर्सन्थे, त्यहाँ (सिमला) बस्दा पनि कतै माओवादी आइ हाल्छन की भनेर बजार जाँदा डर हुन्थ्यो, दुर्गम गाउँमा लुकेरै बसेको थिए, उहाँले भन्नुभयो । नेपाल आउन दुई पटक सीमासम्म पुगे । तर, अझै देशमा शान्ति भएको छैन भन्ने डरले फर्केर सीमला पुग्ने गर्थे ।
उहाँको मनमा अहिले पनि माओवादीको त्रास बाँकी नै छ । भारतको सिमलाबाट नेपाल आउन २२ वर्षदेखि हिम्मत जुटाइरहेका देव अहिले छोराको विद्यालय भर्ना नहुने भएपछि जे भए नि सहुला भन्ने ठानेर नेपाल आएको बताउनु हुन्छ । मलाई नेपालमा युद्ध नै चलिरहेको छ भन्ने लागेको थियो, बाटोमा पनि डर नै थियो, अरुलाई सोध्दै, अनुहार लुकाउदै घर पुगे, यता पुगेपछि सबैले अब शान्ती भयो अहिले युद्ध छैन भने पछि बल्ल मन शान्त भयो उहाँले भन्नुभयो ।
सिमलामा बस्दै आएका देवले केही वर्ष पहिले उतै विहे गर्नुभएको थियो । उहाँको छोरोको उमेर पाँच वर्षको छ । विद्यालय भर्ना गर्न जन्म दर्ता चाहिने भएपछि उहाँ नेपाल आउनुभएको हो । सिमलामा मजदुरी गर्दै आउनुभएका उहाँलाई अब भारत जाने भन्दा पनि सबैले सहयोग गरे गाउमै बस्न मन छ । मलाई यताको बारेमा केही जानकारी छैन् । म यताबाट गएको २२ वर्ष भयो । अहिले धेरै फरक छ । सबैले सहयोग गरे यतै बस्ने गरी परिवार नै लिएर आउछु, उहाँले भन्नुभयो ।

माओवादी कालमा मजदुरी गर्दै आएका देवसिह मात्र होइन सोझा साझा नागरिकले दुःख पाउँदा आफूहरु समेत भारत जानुपरेको अर्का स्थानीय सुरेन्द्रबहादुर खडायतले गुनासो गर्नु भयो । म पनि द्धन्द्धकालमा विस्थापित भएर भारत पुगे । पछि शान्ति भएको थाहाँ पाएपछि चाडै फर्किए । तर, देवसिह भने समयमै फर्किन सकेन् । ढिलै भए पनि गाउँ पुगेको छ ।
अहिले देवसिहले आफ्नो बुवा बहादुरसिह धामीलाई धनगढीको पहलमानपुर पुगेर भेटेका छन् । उहाँका भाई केशवसिह धामी र बुवा अहिले धनगढीमा बस्छन् ।
शैल्यशिखर नगरपालिका–१ का अध्यक्ष भरतबहादुर खडायतले देवलाई यतै बस्ने व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले धेरै दुःख पाउनु भएको छ । अब यतै बस्ने व्यवस्था गर्न हामी सबैले सहयोग गछौँ, वडाध्यक्ष खडायतले भन्नुभयो ।
वडा कार्यालयले ४३ वर्षीय देवको जन्मदर्ता गरेको छ । वडा कार्यालमै देवको ०३८ वैशाख १० गतेको जन्म दर्ता गरिएको र अव नागरिकता बनाउन प्क्रिया अधि बढेको वडाध्यक्ष खडायतले बताउनु भयो ।