नलगाड नगरपालिका-५ मा भूकम्पले मुहान भासिएपछि खानेपानीको हाहाकार भएको छ । नलगाड नगरपालिका–५ का ऐरारी, लवीसा, गर्छिन, पोखरा, खन्टाकुरा टोलका नागरिकले खाँदै आएका पानीका मुहान भूकम्पले भासिएपछि गाउँबस्तीमा खानेपानीको समस्या भएको हो ।

वातावरणीय प्रभाव मुल्याङ्कन (डिपिआर) नगरी खनिएका सडकका कारण सुक्दै गएका मुहान गत वर्षको भूकम्पले भासिएपछि खानेपानीका धारामा पानी नआउँदा समस्यामा परेका छन् । भूकम्प गएको करिव १७ महिना बितेको छ । लामो समयदेखि गाउँमा खानेपानीको हाहाकार हुँदा पनि सरोकारवाला निकाय, स्थानीय सरकार बेखबर बनेको छ । नलगाड नगरपालिका–५ का दलबहादुर खत्रीले गाउँवस्तीमा आउने पानीका मुहान सुकेपछि खानेपानीको हाहाकार हुनुका साथै पानी लिनको लागि आधा घण्टा हिँडेर घण्टौँ पालो पर्खिनुपर्ने बाध्यता छ ।
गाउँबस्तीमा सडक पुर्याउन हचुवाको भरमा खनेपछि पानीका मुहानमा क्षति पुगेका थियो । गत वर्ष कात्तिक १७ गते बारेकोट गाउँपालिका–१, रामिडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले मुहानमा पानी आउन छोडेपछि ऐरारी, लबीसा, गर्छिन, पोखरा खन्टाकुरा गाउँबस्तीका १ सय ५० बढी घरपरिवार समस्याम परेका छन् । दुई किलोमिटर टाढाको दुरीमा रहेको पञ्चासेको मुहान सुकेपछि ऐरारीगाउँका ५० घरघुरीले घण्टौँ पालो पर्खिएर खोरियाको पानी खाने गरेका छन् ।
नलगाड नगरपालिका-५ का दिलबहादुर वलीले माझगाउँबाट आएको पानी सुकेपछि गाउँदेखि मुनीको पानी ल्याउने गरेको बताउनु भयो । गाउँदेखि माथिको खानेपानीको ट्याङ्की सडक खनेको माटोले पुरिएपछि ५० घरघुरीलाई विहान बेलुका पानीको चिन्ता हुने गरेको छ । स्थानीय सरकारसग खानेपानी गाउँमा उपलब्ध गराउन समुदायले आग्रह गरेपनी वास्ता नगरेको बताउनु भयो । घरआँगनमै आउने पानी सुकेपछि गाई गोरु बाख्रालाई पानी हुने ठाउँमा लिएर खुवाउने, भैँसीलाई गाग्रीमा बोकेर खुवाउनु पर्ने बाध्यता छ ।
नलगाड नगरपालिका-५ की शारदा वलीले पहिला प्रयोग गरेका पानीका मुहान सडक र भूकम्पले भासिदा सुकेपछि टाडाबाट पालो पर्खेर ल्याउँदा बालबालिकाको पढाइ छुट्ने गरेको गुनासो गर्नुभयो । गाउँबस्तीमा खानेपानीको समस्या भएपछि स्थानीय सरकारसग अनुरोध गरेपनी पानीको लागि पहल नगरेको उहाँको भनाइ छ ।