INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित शिक्षक गिरफ्तार

१६ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सप्तकोशी नगरपालिका-२ स्थित एक विद्यालयका ३३ वर्षीय शिक्षक फागुन २० गते गिरफ्तार भएका छन् ।

विद्यालयका कम्प्युटर शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आरोपितमाथि कक्षा १० मा अध्ययनरत बालिकालाई गलत नियतले छोएको, जिउ सुम्सुम्याएको, अंगालो हालेको लगायतको आरोप छ । अन्य विद्यार्थीहरू निस्किसकेपछि ‘केही कुरा गर्नु छ’ भन्दै आरोपितले पीडितलाई रोकेको र यौन दुर्व्यवहार गरेको बालिकाले बताउनु भएको छ । आरोपित शिक्षक ०७९ चैत २७ गतेदेखि करारमा कार्यरत छन् ।

शिक्षकको दुर्व्यवहारबाट अत्तालिएकी बालिका चिच्याएपछि जम्मा भएका विद्यार्थीहरूले विद्यालय प्रशासनसमक्ष गुनासो गरेपछि अवस्था तनावग्रस्त बनेको भन्नुहुँदै प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, नगरपालिकाको शिक्षा शाखा, महिला तथा बालिकालिका शाखा, विद्यालयका शिक्षकहरू र जनप्रतिनिधिहरूको सामूहिक बैठकले आरोपित शिक्षकमाथि अनुसन्धान र आवश्यक कारवाही गर्न निर्णयसहित इलाका प्रहरी कार्यालय कञ्चनरूपलाई फागुन २० गते पत्राचार गरिएको बताउनु भयो । घटनापछि अभिभावक र शिक्षकहरूले नै आरोपितलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए ।

बालिकाका परिवारका सदस्यले फागुन २१ गते दिएको यौन दुर्व्यवहारको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरूपका डीएसपी महेन्द्र नेपालले जानकारी दिनुभयो । आरोपितमाथि बाल यौन दुरूपयोगको उजुरी दर्ता गरी थप अनुसन्धान थालिएको अनुसन्धानमा खटिएका इन्स्पेक्टर राजबाबु ठाकुरले बताउनु भयो । पीििडतको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा फागुन २१ गते भएको छ ।

अन्य

भिडियो