१७ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई सामूहिक बलात्कार गरी हत्या गरेको आरोपमा १३ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८१ फागुन २१ गते गिरफ्तार गरेको छ ।
आरोपित लगायत नवराजपुर गाउँपालिका-१ का १८ वर्षीय चन्दन साह र १८ वर्षीय रामबिनय मण्डलले ०८१ माघ २७ गते राती शौचालय गएकी बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई सामूहिक बलात्कार गरी कसैलाई भने ज्यान मार्ने धम्की दिएको बालिकाकी आमाले बताउनु भयो ।
त्यसैगरी, पति रोजगारीको सिलसिलामा भारतको पन्जाबमा रहेको र घरमा आफू एक्लै रहेकोले घटनाको विषयमा गाउँकै केही भद्र भलादमीहरूलाई जानकारी गराउँदा उनीहरूले गाउँमै पञ्चायत बसी छलफल गरी पीडितलाई १ लाख ४० हजार रुपियाँ क्षतिपूर्ती दिने गरी मेलमिलाप गराउन खोजेको बालिकाकी आमाले बताउनु भयो । माघ ३० गते बेलुकी पतिको फोन आएको खबर आएपछि छोरीलाई घरमा एक्लै छोडेर फोन गर्न बजार गएकी थिइन् । बजारबाट फर्केर घरमा आउँदा घरको ढोका बन्द थियो । एक छिनसम्म छोरीलाई बोलाएँ । तर, कोठाभित्रबाट छोरीले कुनै प्रतिक्रिया नजनाएपछि घरभित्र पसेर हेर्दा छोरी झुण्डिएको अवस्थामा फेला परिन् । छोरीले आत्महत्या नगरी आरोपितहरूले हत्या गरी झुण्ड्याएको पीडित परिवारको आरोप छ ।
आरोपितहरूविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा ०८१ फागुन ८ गते उजुरी दिनु भएको थियाे ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिरेन्द्र कुमार पासवानका अनुसार हत्या र बलात्कार साथै घटनालाई ढाक्छोप गर्न गाउँमा गाउँकै केही मानिसहरू पञ्चायत बसी छलफल गरी पीडित परिवारलाई क्षतिपूर्ति स्वरुप १ लाख ४० हजार रुपियाँ दिनु पर्ने भनी मिलापत्र गराउन खोजेको खुल्न आएको छ । घटनाका मुख्य आरोपितहरू सहित पञ्चायत बस्नेहरू उपर पनि अपहरण, शरीर बन्धक, बलात्कार गरी हत्या गरेको र पञ्चायतीद्वारा लेनदेन गरी मेलमिमलाप गर्न खोजेको अन्तर्गतको कसुरमा पुरक उजुरी लिएर अनुसन्धान सुरु गरेको डिएसपी पासवानले बताउनु भयो ।
घटनाका संलग्न रहेको आरोपमा तीन जना पञ्चहरूलाई फागुन ११ गते गिरफ्तार गरेको र विशेष सुराकीको आधारमा आरोतिप बालकलाई गिरफ्तार गरी अनुसन्धानको लागि दुई दिनको म्याद थप गराएको र अन्य आरोपितहरू फरार रहेकोले खोजतलास भइरहेको डिएसपी पासवानले जानकारी दिनु भयो ।