दाङ जिल्लाको लमही नपा–७, उच्च लिम्बु स्थायी घरभइ बुटवल उपमहानपा-११, कालिका पथमा साथीहरूसँग बसी ज्याला मजदुरी गर्दै आउनुभएकी ४० वर्षीया सङ्गिता चौधरीको हत्या गरेको आरोपमा निजसँगै मजदुरी गर्ने तिलोत्तमा नगरपालिका-१२ का अजय भनिने ४२ वर्षीय अमिरिका थारुलाई प्रहरीले फागुन १६ गते गिरफ्तार गरेको छ ।
आरोपितले मृतकलाई यौन प्रस्ताव राखेको र मृतकले अस्वीकार गरेपछि ढुङ्गाले हानेर हत्या गरी सियारी गाउँपालिका–२, भगदरी स्थित बेथरी सडकखण्डको गहुँखेतमा परालले छोपेर शवलाई लुकाएको अवस्थामा स्थानीयको सहयोगमा प्रहरीले फेला पारेको थियो । आरोपितले फागुन ८ गते संगिताको हत्या गरी फरार रहेको र अनुसन्धान गर्ने क्रममा फागुन १६ गते गिरफ्तार गरी कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले बताउनु भयो ।
डिएसपी कार्कीका अनुसार मृतक र आरोपित दुवै जना मजदुरी काम सकेर एक होटलमा बसेको र त्यसपछि माया प्रेमका कुरा भएपछि महिलाले अस्वीकार गरेपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ । मृतकको टाउको र अनुहारमा ढुङ्गा प्रहार गरी नचिनिने गरी हानेको अवस्थामा सडक किनारमा परालको थुप्रोले ढाकेको अवस्थामा शव भेटिएको थियो ।
शवको पोष्टमार्टम फागुन ८ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भएको थियो ।