टोखा नगरपालिकाको झोर सडकखण्डमा भारतीय नागरिक २९ वर्षीय गुड्डु पटेललाई प्रहरीले २०८१ फागुन १८ गते साँझ गोली प्रहार गरी घाइते तुल्याएको छ ।
प्रहरीको मोष्टवान्टेडमा रहेका भारतीय नागरिक गुड्डुलाई प्रहरीले गिरफ्तार गर्ने क्रममा गोली प्रहार गर्नु परेको अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख एसपी रमेश बस्नेतले जानकारी दिनु भयो ।
घाइते गुड्डुले सर्लाही हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीमा ०७९ असोज ३ गते कागेश्वरी मनोहरा नगरपालिका– ८ स्थित एड्भेन्चर इन्टरप्राइजेज गार्मेन्टअगाडि गोली प्रहार गरी हत्या गरेको घटनाका मुख्य सुटर रहेको अनुसन्धानबाट खुल्न आएको एसपी बस्नेतले बताउनु भयो ।
सो घटनाको अनुसन्धानको क्रममा पटेल टोखा आसपासमा रहेको सूचना पाएपछि चार राउण्ड गोली चलाएर गिरफ्तार गरेको बस्नेतले जानकारी दिनु भयो । खुट्टामा गोली लागेर घाइते भएका पटेलको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको एसपी बस्नेतले बताउनु भयो ।