१३ र १४ वर्षीया दुई जना विद्यार्थीलाई बनेपा नगरपालिका–६ गोसाइकुण्डमा रहेको गुरूकुलमा ०८१ माघ ३० गते संस्कृत सिकाउने शिक्षक कौशल आचार्यले कुटपिट गरी घाइते तुल्याएको आरोप लागेको छ ।
कक्षा ७ र ८ मा अध्ययन गर्ने विद्यार्थीहरूले अभिभावकलाई फोन गरी शिक्षकद्वारा आफूहरुू माथि कुटपिट भएको बताएका थिए ।
शिक्षकले कुटपिट गरेर हात भाँचिदिएको र कान फुटाई दिएको विद्यार्थीको आरोप छ । घटनाको लगत्तै घाइते विद्यार्थीहरूलाई शीर मेमोरियल अस्पताल लगेर उपचार गरिएको छ ।
पीडित विद्यार्थीका अभिभावकको उजुरीपछि गुरूकुल व्यवस्थापन समितिका अध्यक्ष भैरव केसीको संयोजकत्वमा छानविन समिति गठन भएको छ । समितिमा वडा प्रतिनिधि लालकृष्ण तिमल्सिना र व्यवस्थापन समितिका पूर्व अध्यक्ष फडिन्द्रराज अधिकारी सदस्य छन् ।
छानविन समितिले बालकहरुूलाई मानसिक र शारीरिक यातना दिएको र अनियमितता भएको सन्र्दभमा समेत छानविन गरी प्रतिवेदन बुझाउने छ । अभिभावकहरूको चर्काे दबाब पछि गुरूकुल ब्यवस्थापन समितिबाट आरोपित शिक्षकलाई फागुन ४ गते निश्कासन गरिएको छ । यसअघि स्वंय प्राचार्यद्वारा विद्यार्थी कुटपिट भएको भन्दै विद्यार्थीहूले अभिभावकलाई गुनासो गरेका थिए ।
गोसाईस्थान नैमिषारन्य क्षेत्र विकास समितिद्वारा सञ्चालित नैमिषारन्य संस्कृत गुरूकुलमा विगत दुई वर्षदेखि बालकहरुलाई मानसिक र शारीरिक यातना दिँदै आएको विद्यार्थीहरूले बताएका छन् ।
केही समय अघि कक्षा ९ र १० मा अध्ययन गर्ने आठ जना बालक भागेर सिन्धुली बर्दिबास पुगेको अवस्थामा फर्काएको थियो । गुरूकुलमा ५५ जना बालक अध्ययनरत छन् । यस वर्ष देखि गुरूकुलमा कक्षा ११ को अध्ययन भइरहेको छ ।