INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिकाका अध्यक्षद्वारा कुटपिट

भिमाद नपा–६ मालेबगरका ५७ वर्षीय प्रभात आलेलाई ०८१ फागुन ७ गते ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले कुटपिट गरेको पीडितले आरोप लगाउनु भएको छ । एक हप्ता अघिको घटना भएपनि प्रहरीले जाहेरी लिन नमानेपछि पीडितले फागुन १३ गते घटनाबारे सार्वजनिक गर्नु भएको हो । कुटपिट गर्ने गाउँपालिका अध्यक्ष श्रेष्ठ नेपाली कांग्रेस तनहुँका उपसभापति समेत हुन् ।

जग्गाको विषयमा भएको विवादले गाउँपालिका अध्यक्षले आफूमाथि कुटपिट गरेको पीडित आलेले बताउनु भयो । पीडितका अनुसार भाई विलासको जग्गा राजेन्द्रकृष्णले किनेर प्लटिङ गरेर बिक्री गरेका थिए । ७ वर्ष पहिले किनबेच भएको जग्गाको बाटो छोड्ने सहमति थियो । सहमति कार्यान्वयन नभएपछि विवाद सुरु भएको हो । विवाद टुंग्याउन खोज्दा आफूमाथि कुटपिट भएको उहाँको आरोप छ । ‘मैले अध्यक्षलाई फोनमार्फत यो विषय टुंग्याउँ भन्दा उहाँले घर आइज न त भनेपछि तुरुन्त घर गएँ’, प्रभातले भन्नुभयो, ‘उहाँको पत्नीले ढोका खोल्नुभयो । झड्याम झड्याम देब्रेपट्टि फिलामा पिभिसी पाइपले कुटपिट गर्नुभयो ।’ प्रभातको फागुन १३ गते बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा स्वास्थ्य परीक्षण गराएको बताउनु भयो ।

आफूमाथि हातपात गरेपछि प्रतिकार गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनु भयो । फागुन ७ गते बेलुका ८ बजेर ५५ मिनेटको समय आसपासमा प्रभात आफैंले फोन गरेको श्रेष्ठले बताउनु भयो । ‘घरमै आएर तिमलाई ठीक गर्छु । तिमीसँग मेरो वार की पार हुन्छ भन्यो, त्यसो भए आउन त भनेँ, उहाँले भन्नुभयो । ढोका खोल्दिएपछि आफूलाई टाउकोमा हानेको श्रेष्ठले बताउनु भयो ।

आरोपित श्रेष्ठलाई कारबाहीको लागि उजुरी दिन फागुन १३ गते इलाका प्रहरी कार्यालय बेलचौतारामा आएपनि प्रहरीले उजुरी नलिएको आलेले बताउनु भयो । मुद्दा फाँटले उपचार गराएर आउन आग्रह गर्दै उजुरी नलिएको उहाँले बताउनु भयो । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक पोषण थापाले ठाडो निवेदन परेको बताउनु भयो । जाहेरीका सम्बन्धनमा अनुसन्धान गरेर लिने उहाँले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी विरेन्द्रबहादुर शाहीले कुटपिटको घटनामा जसले पनि उजुरी दिने वित्तिकै नलिइने बताउनु भयो । ‘कुटपिटको विषयमा घाउ जाँच हुन्छ । घटनाको विषय लिएर बुझ्ने हो । घाउ जाँच गरेर प्रहरीले बुझ्ने काम गरिरहेको छ’, एसपी शाहीले भन्नुभयो । त्यसपछि प्रक्रिया सुरु हुने उहाँले बताउनु भयो ।

अन्य

भिडियो