खार्पुनाथ गाउँपालिका–१ मा रहेको लाली बगर र वडा नम्वर ५ मा रहेको याङ्चु बगरको भत्किएको पुल निर्माण नहुँदा स्थानीयले वषौँदेखि सास्ती भोग्दै आएका छन् । सम्झौता भएको साँढे दुई वर्ष बितिसक्दा पनि कर्णाली नदी माथिका दुई ओटा पक्की पुलको निर्माण कार्य सुरु हुन नसकेको हो । पुर्वाधार विकास कार्यालय हुम्लाले योजनाका रुपमा निर्माण कार्य सम्पन्न गर्न चार वर्ष अवधि राखेको भए पनि सम्झौता गरेको साढे दुई वर्ष बितिसक्यो । तर त्यसको काम कार्य अघि बढ्न सकेको छैन ।

खार्पुनाथ गाउँपालिकाको याङ्चु बगर र लाली बगरमा रहेको कर्णाली नदी माथिको पक्की पुल निर्माण गर्नका लागि पुर्वाधार विकास कार्यालय हुम्लाले सुर्या एजएम शृया जेभीसँग साँढे दुई वर्ष अगाडि नै सम्झौता गरेको थियो । उक्त पुल निर्माण कार्य हुन नसकेपछि हाल खार्पुनाथ गाउँपालिका–१, २, ३, ४ र ५ का स्थानीयलाई समस्या भएको छ । स्थानीय मानबहादुर परियारका अनुसार लाली बगरमा पुल निर्माण नभएका कारण दैनिक दिन एक गाउँबाट अर्को गाउँ, पालिका केन्द्र र सदरमुकाम सिमकोट पुग्नलाई कठिनाइ भएको गुनासो गर्नुभएको छ ।
उहाँका अनुसार विद्यालयमा जाने विद्यार्थीले समेत सास्ती खेप्नु परेको छ । पुर्वधार विकास कार्यालय र निर्माण कम्पनीको चरम लापरवाहीका कारण पुल निर्माण कार्यमा ढिलाइ हुनुका साथै छोटो दुरिमा रहेको बाटो हाल घण्टौँ लगाएर सम्बन्धित ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरेका छन् । उक्त स्थानमा पुल नबनेकै कारण यतिबेला मानिस तथा पशुवस्तुलाई समेत वारपार गर्न मुस्किल भएको छ । राया, थाली, सेरडिल र कारङ्ग लगायतका गाउँबस्तीका मानिसहरूले ज्यान जोखिम मोल्दै तुइनको भरमा वारपार गर्नुपर्ने बाध्यता रहेको स्थानीय हस्त बहादुर शाहीले गुनासो गर्नुभयो ।

नेपाल सरकारले यस अघि नै तुइन विस्थापित गर्ने नीति अनुरुप तुइन विस्थापित गरिएका व्यक्तिहरूको पुनस्थापनाका लागि विभिन्न योजना र कार्यक्रमहरू प्रस्तावित गरिएको थियो । जसले प्रभावित समुदायलाई सहयोग पुर्याउने उद्देश्य राखेको भए पनि उक्त नीति खासै प्रभावकारी हुन सकेको छैन । पुल निर्माणका लागि पटक पटक निर्माण कम्पनीलाई ताकेता गर्दा पनि कुनै सुनुवाइ हुन नसकेको पुर्वधार विकास कार्यालयका प्रमुख नरेशराज जैसीले बताउनु भयो । पुल निर्माणका लागि सम्झौता पत्रमा चार वर्ष अवधि राखेका कारण पुल निर्माण हुन नसकेको उहाँले स्वीकार गर्नु भएको छ ।
दुवै पुल निर्माणका लागि ०७९ जेठ २७ गते सम्झौता भएर ०८४ साल जेठ ११ गते सम्पन्न गर्ने मिति राखिएको छ । पुल निर्माणका लागि लामो अवधि राख्न नहुने हो तर उक्त कार्यालयले निकै लामो समयको अवधि राखेकोले समस्या देखिएको हो । जसमा याङ्चु बगरको पक्की पुल निर्माणका लागि १७ करोड लागत लाग्ने गरि बजेटको व्यवस्था गरिएको छ भने लालि बगरका लागि १४ करोड रुपियाँ लागत लाग्ने गरी सम्झौता गरिएको छ ।
यी दुवै पुल निर्माणका लागि कर्णाली प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयले ०७७ मङ्सिर ८ गते बहुवर्षीय योजनाका रुपमा स्वीकृत दिँदै बजेटको सुनिश्चितता गरेको थियो । यसअघि सडक सञ्जान नजोडिएका कारण निर्माण सामाग्री ढुवानीमा समस्या भएको थियो । तर कर्णाली करिडोर खार्पुनाथ गाउँपालिकासम्म जोडिएको देखिँदा पनि निर्माण कम्पनीले बहानाबाजी गरेको पाइएको छ ।
