INSEC Online

📅 २०८३ जेष्ठ २१

केवलकार निर्माण विवाद: प्रहरीले बदला लिएको आरोप, मन्त्रीस्तरीय वार्ता समिति बनाउन माग

केवलकार निर्माण खारेजीको माग गर्दै आएको समूहले प्रहरीले बदला लिएको आरोप लगाएको छ ।

केवलकार निर्माणको विरोधका क्रममा ०८१ माघ १२ गते पाथीभरा(मुकुम्लुङ) क्षेत्र, फुङलिङ नगरपालिका-१० र ११ मा बलुडाँडामा प्रहरीसँग भएको झडपको बदला प्रहरीले फागुन १० गते फुङलिङ नगरपालिका-५ वीरेन्द्र चोकमा लिएको आन्दोलनरत पक्षको भनाइ छ ।

आन्दोलनरत पक्षले फागुन ११ गते विज्ञप्ति जारी गरी प्रहरीले बदला लिएको आरोप लगाएको हो ।

माओवादी प्रदेशले वार्ता र सम्वादका माध्यमबाट समस्याको समाधान खोज्न माग गरेको छ ।

photo 20250224 Taplejung 1 photo 20250224 taplejung 2

वीरेन्द्र चोकमा फागुन १० गते आन्दोलनरत पक्षले निकालेको राँके जुलुस जिल्ला प्रशासनको जानकारीमा नभएको र प्रशासनसँग अनुमति लिएर विरोध र्‍याली गर्नुपर्नेमा आन्दोलनरत पक्षले राँके जुलुसका लागि अनुमति समेत नलिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा थप सुरक्षा स्थिती विग्रन नदिनका लागि जिल्ला प्रशासन कार्यालयले फागुन ११ गते विहान ५ बजेदेखि अनिश्चितकालीन निषेध आदेश जारी गरेको छ । अर्को सूचना जारी नहुञ्जेलसम्म फुङलिङ नगरपालिका बजार क्षेत्र र काप्लेपाटी बलुडाँडामा निषेधाज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी निषेध आदेशमा उल्लेख छ ।

आन्दोलनरत पक्षले मुकुम्लुङ क्षेत्रमा शान्ति पदयात्रा गरी फागुन १० गते जिल्ला सदरमुकाम आइपुगेको समूहलाई प्रहरीले निशाना बनाएको आरोप लगाएपनि स्थानीयले भने आन्दोलनरत पक्षले राँके जुलुस निकालेर डर र त्रासको वातावरण बनाएको बताएका छन् ।

आन्दोलनका नाममा राँको बाल्ने र पुल्ठो घरघरमा फ्यालेको प्रति स्थानीयले विरोध जनाएका छन् । आन्दोलनरत पक्षका कार्यकर्ता जिल्ला बाहिरका भएका कारण उनीहरूले जति सक्दो उपद्रव मच्चाउने र आपसी सद्भाव र भाइचारा बिगार्ने प्रयास गरेको स्थानीयको आरोप छ ।

आन्दोलनकारीले उपमेयर हिमादेवी ओझाको घरमा फ्यालेको पुल्ठोले दुई जना घाइते भएका छन् । पुल्ठोले लागेर उपमेयरका पति राजेन्द्र ओझा र छोरी सुस्मा ओझा घाइते हुनु भएको छ । ग्यास सिलिण्डर भण्डार गरिएको क्षेत्रमा पुल्ठो फ्यालिएको प्रति स्थानीयले विरोध जनाएका छन् ।

राँके जुलुस निकाल्ने क्रममा प्रहरीलाई आगोको पुल्ठोले प्रहार गरेको र घरघरमा पुल्ठो फ्यालेकामा स्थानीयले आन्दोलनको नेतृत्वसँग आन्दोलनलाई शान्तिपूर्ण र भयरहित बनाउन माग गरेका छन् ।

झडपमा २३ जना घाइते

प्रशासनको अनुमति बिना फागुन १० गते वीरेन्द्र चोकमा निकालिएको राँके जुलुसका क्रममा भएको झडपमा २३ जना घाइते भएका छन् । सुरक्षाकर्मी ११ जना र आन्दोलनरत पक्षका १२ जना घाइते भएका हुन् । झडपका क्रममा घरघरमा पुल्ठो फ्यालेको आरोपमा प्रहरीले १५ जनालाई गिरफ्तार गरेको छ । झपडमा घाइते भएकामध्ये पाँच जना वेड भर्ना र तीन जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । घाइते सुरक्षाकर्मीको विवरण प्रहरीले उपलब्ध गराएको छैन । झडपमा आन्दोलनरत पक्षका १२ जना घाइते भएका छन् । जसमध्ये तीन जनालाई थप उपचारका लागि जिल्लाबाहिर रेफर गरिएको छ । सुनसरी, इटहरी उपमहानगरपालिका-५ का ५० वर्षीय कमल लिम्बू, फत्ताङलुङ गाउँपालिका-६ का ४० वर्षीय केसेङकुमार लिम्बू, फुङलिङ नगरपालिका-८ का ६० वर्षीय केशव खड्का, इलाम, सूर्योदय नगरपालिका-१४ का २५ वर्षीय मिलन सावा, मिक्लाजुङ गाउँपालिका-२ का ४९ वर्षीय सन्त राई, झापा अर्जुनधारा नगरपालिका-२ का ३६ वर्षीय सञ्जय लिम्बू, अर्जुनधारा नगरपालिका-४ की २६ वर्षीया कोपिला चेम्जोङ, ताप्लेजुङ मेरिङदेन गाउँपालिका-२ का ४३ वर्षीय भवानीसिंह लिम्बू, इलाम, फाक्फोक्थुम गाउँपालिका-२ का ४३ वर्षीय रामकुमार राई, फुङलिङ नगरपालिका-४ का ५३ वर्षीय असिम पालुङ्गवा, सोही ठाउँका २७ वर्षीय समिर लिम्बूलगायत छन् ।

उपद्रव र हुलदुङ्गा आरोपमा १५ जना गिरफ्तार

वीरेन्द्र चोकमा फागुन १० गते साँझ उपद्रव र हुलदुङ्गा गरेको आरोपमा प्रहरीले १५ जनालाई गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयले उपद्रव मच्चाएको र हुलदुङ्गा गरेको आरोपमा १५ जनालाई अनुसन्धानका लागि गिरफ्तार गरेको छ । गिरफ्तारीमा परेका १५ जनामध्ये ताप्लेजुङका एक जना मात्र छन् । अन्य सबै जिल्ला बाहिरका छन् । प्रहरीले आठराई त्रिवेणी गाउँपालिका-१ का ४५ वर्षीय नवीन पोमू, पाँचथर, फिदिम नगरपालिका-११ का २२ वर्षीय एमन राई, फालेलुङ  गाउँपालिका-८ घर स्थायी घर भइ फिदिम नगरपालिका-१ मा बस्दै आएकी ४० वर्षीया सुनिता केरुङ, हिलिहाङ गाउँपालिका ६ स्थायी घर भइ हाल झापा, अर्जुनधारा नगरपालिका-११ का ४८ वर्षीय मित्र लिङदेन, पाँचथर, मिक्लाजुङ गाउँपालिका-५ स्थायी घर भइ इलाम नगरपालिका-७ मा बस्दै आएका ५१ वर्षीय योगेन्द्र लावतीलाई गिरफ्तार गरेको छ । तेहृथुम,आठराई गाउँपालिका ७ स्थायी घर भइ हाल झापा, अर्जुनधारा नगरपालिका-११ मा बस्दै आएकी ३० वर्षीया दीक्षा भनिने निर्मला बराल दर्नाललाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । झापा, शिवसतासी नगरपालिका २ स्थायी घर भई बिर्तामोड नगरपालिका-२ बस्दै आएकी २० वर्षीया ईक्सा लिम्बू, झापा, अर्जुनधारा नगरपालिका-४  की २१ वर्षीया निहा चेम्जोङलाई गिरफ्तार गरेको छ । सुनसरी, इटहरी उपमहानगरपालिका-३ का २३ वर्षीय विवेक लिम्बू, सोही ठाउँका १९ वर्षीय जुरन राई, इटहरी उपमहानगरपालिका-२ का ३२ वर्षीय अर्जुन भनिने वीर्खबहादुर तामाङ, इटहरी उपमहानगरपालिका-२० का ३२ वर्षीय अनुप सुब्बा, र इटहरी उपमहानगरपालिका-१० का १९ वर्षीय विशेष सुब्बालाई गिरफ्तार गरेको छ । मोरङ, ग्रामथान गाउँपालिका-६ स्थायी घर भइ सुन्दरहरैचा नगरपालिका-१० मा बस्दै आएका ५८ वर्षीय तुलाराम तामाङ र उर्लाबारी नगरपालिका-१ का ३९ वर्षीय हरि लिम्बूलाई प्रहरीले उपद्रव मच्चाएको आरोपमा गिरफ्तार गरेको हो । गिरफ्तारीमा परेकाहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ६३ बमोजिम हुलदङ्गा गर्न नहुने र उक्त संहिताको दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसूरमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ बमोजिम जिल्ला अदालतबाट सात दिनको अनुमति लिएर अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उच्चस्तरीय वार्ता समिति बनाउन माग

नेकपा माओवादी केन्द्र, प्रदेश समिति विराटनगरले पाथीभरा मुक्कुम्लुङ क्षेत्रमा भएको विवाद समाधानका लागि मन्त्रीस्तरीय वार्ता समिति बनाउन माग गरेको छ । माओवादी कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङले फागुन ११ गते विज्ञप्ति जारी गर्दै वार्ता समिति बनाउन माग गर्नु भएको हो । केवलकार निर्माणको विरोधमा उत्रिएको समूह र प्रहरीबीच पटक-पटक भएको झडपमा दर्जनौं घाइते भएको बताउँदै सरकारले वार्ता र संवादबाट राजीनितक रूपमा त्यसको समाधान खोज्नुपर्नेमा बल प्रयोगबाट आन्दोलनकारीलाई लपेट्ने प्रयास निन्दनीय र आपत्तिजनक रहेको विज्ञप्तिमा उल्लेख छ ।

photo 20250224 Taplejung

अन्य

भिडियो