नेपालमा प्रत्येक दिन ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर र चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको सरकारी तथ्याङ्क छ ।
पाठेघरको मुखको क्यान्सर र यसको क्षति निवारणका लागि नेपाल सरकारले ०८१ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशव्यापी रूपमा ह्युमन प्यापीलोमा भाइरस(एचपीभी) खोप अभियान सञ्चालन गरेको छ ।
‘भ्याक्सिन र खोपका लागि एलायन्स,गाभीको सहयोगमा खोप आएपछि सरकारले देशव्यापी ’ रूपमा ह्युमन प्यापीलोमा भाइरस(एचपीभी) खोप अभियान सञ्चालन गरेको हो ।
कोशी प्रदेशमा २ लाख ७५ हजार १ सय ८० खोपको मात्रा प्राप्त भएकोमा २ लाख ३१ हजार २ सय ३० जना छात्रा तथा किशोरीहरूलाई खोप लगाइएको छ ।
विद्यालय जाने कक्षा ६ देखि १० सम्मका र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका बालिकालाई खोप लगाइएको प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाका खोप अधिकृत भरत भण्डारीले बताउनु भएको छ ।
ताप्लेजुङ प्रतिनिधि एलिना दियालीका अनुसार जिल्लाका ७ हजार १ सय २० जना छात्रालाई एचपीभी खोप लगाइएको छ । स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत दिनेश रायले जिल्लाका २ सय २३ ओटा खोप केन्द्र मार्फत् ७ हजार बढीलाई खोप लगाइएको बताउनु भयो । फुङलिङ नगरपालिकामा २ हजार ४ सय ७६ जना र सबैभन्दा कम मैवाखोला गाउँपालिकाका ६ सय २७ जना छात्रालाई खोप लगाइएको छ । सिरीजङ्घा गाउँपालिकामा ८ सय २५, सिदिङवा गाउँपालिकामा ५ सय ३७, पाथीभरा याङवरक गाउँपालिकामा ५ सय १४ जना र मिक्वाखोला गाउँपालिकामा ३ सय ६५ जनालाई खोप लगाइएको छ । भूगोलका हिसाबले सबैभन्दा ठूलो स्थानीय तह फक्ताङलुङ गाउँपालिकामा ६ सय ३६, मेरिङदेन गाउँपालिकामा ६ सय २ जना, मैवाखोला गाउँपालिकामा ५ सय २७ र आठराई त्रिवेणी गाउँपालिकामा ६ सय ३८ जना छात्रालाई खोप लगाइएको छ । जिल्लामा दुई चरणमा खोप अभियान सञ्चालन गरिएको थियो । माघ २२ गतेदेखि २६ गते सम्म सञ्चालन भएको पहिलो चरणमा फुङलिङ नगरपालिका, सिरिजङ्घा गाउँपालिका, सिदिङवा गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाका छात्रालाई खोप दिइएको थियो । माघ २८ देखि फागुन ३ गतेसम्म आठराई त्रिवेणी गाउँपालिका, मैवाखोला गाउँपालिका, मिक्वाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिकाका छात्रालाई खोप लगाइएको थियो । पाठेघरको मुखको क्यान्सर, गुदद्वारको क्यान्सर, घाँटी र जनेन्द्रीयहरूको क्यान्सरबाट बचाउन महिलाहरूलाई एचपीभी खोप अभियान सञ्चालन गरिएको हो ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लाका ६ हजार २ सय ८२ जना बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइएको छ । माघ २२ देखि २७ गतेसम्म सञ्चालन गरिएको पाठेघरको मुखको क्यान्सर विरुद्धको (एचपीभी) खोप अभियानमा लक्ष्य भन्दा बढीलाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन उमा गुरुङले बताउनु भयो । ६ हजार २ सय ६७ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा लक्ष्य भन्दा बढीलाई खोप लगाइएको फोकल पर्सन गुरुङले बताउनु भयो । विद्यालय, स्वास्थ्य चौकी र अन्य स्थान गरी २ सय १३ ओटा खोप केन्द्रबाट खोप लगाइएको फोकल पर्सन गुरुङले बताउनु भयो ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा ७ हजार ९ सय ४१ जना बालिकालाई एचपीभीविरुद्धको खोप लगाइको छ । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन गरिएको अभियानमा विद्यालयमा अध्ययनरत कक्षा १० सम्म र विद्यालय बाहिरका १४ वर्षसम्म उमेर समूहका बालिकालाई खोप लगाइको छ । जिल्लाका १० ओटै स्थानीय तहका ७ हजार ९ सय १२ जनालाई एचपीभी खोप लगाइएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रोशन श्रेष्ठले बताउनु भयो । जिल्लामा कक्षा ६ देखि १० सम्मका ७ हजार ६ सय ६२ जना विद्यार्थी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका १ हजार ३ सय ७३ किशोरीरहेका मध्ये ७ हजार बढीलाई खोप लगाइएको हो । १ सय ४४ विद्यालयमा २ सय ७६ ओटा खोप केन्द्रमार्फत एचपीभी खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार जिल्लामा ५ हजार बढी बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइएको छ । ०८१ माघ २२ देखि सुरु भएको खोप अभियानमा ५ हजार बढी खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा खोपका लागि १ सय ७४ ओटा खोप केन्द्र निर्धारण गरिएको थियो । जिल्लामा कक्षा ६ मा अध्ययनरत ९ सय ९६ जना र कक्षा सात देखि १० सम्म अध्ययनरत ३ हजार ७ सय ९१ जनालाई खोप लगाइएको छ । विद्यालय नजाने १० वर्षका ३५ जना र ११ वर्षदेखि १४ वर्षका ८ सय ८९ जना गरी कुल ५ हजार ७ सय ११ जनालाई खोप लगाइएको छ ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लाका ७ हजार ५ सय ७१ जना बालिकालाई पाठेघरको क्यान्सरविरुद्ध दिइने ‘ह्युमन प्यापीलोमा भाइरस’ (एचपीभी) खोप लगाइएको छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपीभी खोप दिइएको हो । जिल्लाका नौ ओटा स्थानीय तहमध्ये पहिलो चरणमा माघ २२ देखि २४ गतेसम्म भोजपुर नगरपालिकासहित टेम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन गरिएको हो । दोश्रो चरणमा माघ २७ गते देखि २९ गतेसम्म षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, अरुण गाउँपालिका र पौवादुङमा गाउँपालिकामा दोस्रो चरणको खोप कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख राजु श्रेष्ठले बताउनु भयो । खोप अभियानका लागि जिल्लाका १ सय ३५ ओटा विद्यालय, नौ स्थानीय तहका ८१ ओटै वडा, ८१ ओटा स्वास्थ्य संस्था र नौ ओटा समुदायस्तरीय खोप केन्द्र गरी २ सय २५ ओटा खोप केन्द्र निर्धारण गरिएको थियो । २ सय २५ जना स्वास्थ्यकर्मी र ४ सय ५० जना स्वयमसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार जिल्लामा ८ हजार ७ सय ९८ जना बालिकालाई एचपीभी खोप लगाइको छ । विद्यालय, स्वास्थ्य चौकी र वडास्तरीय स्वास्थ्य केन्द्रमार्फत जिल्लाका ८ हजार बढी बालिकालाई एचपीभी खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जिल्लामा ४ हजार ३ सय ७३ जना बालिकालाई एचपीभी खोप लगाइएको छ । जिल्लामा माघ २३ गतेदेखि २८ गतेसम्म सञ्चालन गरिएको खोप अभियानमा विद्यालय जाने र विद्यालय बाहिरका १४ वर्षसम्म बालिकालाई खोप लगाइएको फोकल पर्सन सुजता बुढाथोकीले बताउनु भयो । फेदाप गाउँपालिकामा ७ सय ४३ जना, आठराई गाउँपालिकामा ९ सय १ जना, मेन्छायायेम गाउँपालिकामा ३ सय ४३ जना, छथर गाउँपालिकामा ६ सय २२ जना, लालीगुराँस नगरपालिका ८ सय ६५ जना र म्याङलुङ नगरपालिका ८ सय ९९ जना बालिकालाई खोप लगाइएको छ । जिल्लाभर ९६ ओटा विद्यालय, ४१ ओटा स्वास्थ्य केन्द्रबाट खोप अभियान सञ्चालन गरिएको थियो । फेदाप गाउँपालिकामा सात जना स्वास्थ्यकर्मी र ४० जना सहयोगी,आठराई गाउँपालिकामा ३३ जना स्वास्थ्यकर्मी र ६५ जना सहयोगी, मेन्छायायेम गाउँपालिकामा तीन जना स्वास्थ्यकर्मी र ६ जना सहयोगी, लालीगुराँस नगरपालिका २२ जना स्वास्थ्यकर्मी र ४४ जना सहयोगी, म्याङलुङ नगरपालिका ३१ जना स्वास्थ्यकर्मी र ८१ जना सहयोगीहरुले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी तोयानाथ दाहालले बताउनु भयो ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्लाका ४२ हजार ६७ जना बालिकालाई एचपीभीविरुद्धको खोप लगाइको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्वास्थ्य मन्त्री भूपेन्द्र राईले ०८१ माघ २२ गतेदेखि सुनसरीबाट शुभारम्भ गर्नु भएको प्रदेशव्यापी खोप अभियानमा जिल्लामा ४२ हजार बढीलाई खोप लगाइएको हो ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्लामा ६ हजार ९ सय ११ जनालाई एचपीभी खोप लगाइएको छ । जिल्लामा नियमिततर्फ १ हजार २ सय २ जना र अभियानको खोप ५ हजार ७ सय ९ जनालाई लगाइएको हो । ०८१ माघ २२ गते देखिफागुन ६ गतेसम्म देशभर एचपीभी खोप अभियान सञ्चालन गरिएको थियोे । जिल्लाका चौविसे गाउँपालिकाका ७ सय ६९ जना, छथर जोरपाटी गाउँपालिकाका ७ सय २२ जना, धनकुटा नगरपालिकाका १ हजार ९ सय ११ जना, महालक्ष्मी नगरपालिकाका १ हजार ८६ जना, पाख्रीबास नगरपालिकाका ८ सय ४३ जना, साँगुरीगढी गाउँपालिकाका ७ सय ५९ जना र सहिदभूमि गाउँपालिकाका ८ सय २१ जना एचपीभी खोप लगाएको स्वास्थ्य कार्यालयका राजन कटुवालले बताउनु भयो । जिल्लामा सञ्चालन गरिएको एचपीभी खोप अभियानमा २ सय १३ जना स्वास्थ्यकर्मी र ४ सय २६ जना स्वयमसेविकाहरु परिचालन गरिएको थियो । एचपीभी खोप सन् २०३० सम्ममा कम्तीमा पनि ९० प्रतिशत किशोरीलाई लगाउने लक्ष्य सरकारको छ ।
इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार जिल्लामा ९ हजार ५ सय ९४ जना बालिकालाई एचपीभीविरुद्धको खोप लगाइको छ । जिल्लाका १० ओटा स्थानीय तहमा रहेका वडा कार्यालयमार्फत खोप अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत गंगाधर पण्डितले बताउनु भयो ।
पाँचथर प्रतिनिधि इवारा जवेगु लिम्बूका अनुसार जिल्लामा ८ हजार ९ सय ५२ जना बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइएको छ । जिल्लामा ०८१ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन गरिएको एचपीभी खोप अभियानमा ८ हजार बढी बालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी लवरेन्स शाहले बताउनु भयो । खोप अभियानका लागि जिल्लाका १ सय ९२ ओटा विद्यालय, ६२ ओटा स्वास्थ्य संस्था, समुदायमा थप खोप केन्द्र एक गरी २ सय ५५ ओटा खोप केन्द्र तोकिएको थियो । खोप अभियानमा २ सय ५५ जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लाका ४७ हजार ३ सय ६५ जना बालिकालाई एचपीभी खोप लगाइएको छ । जिल्लाका १५ ओटा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामार्फत ४७ हजार बढी बालिकालाई खोप लगाइएको हो ।
मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार जिल्लाका ५२ हजार २ सय ८० जना बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइएको छ । जिल्लाका ६ सय १० ओटा विद्यालयमा ५१ हजार ६७ जना बालिका र ९ हजार ६ सय १० जना बालिका गरी ६० हजार ६ सय ७७ जना बालिकालाई खोप लगाउने लक्ष्य निर्धारण गरिएकामा जिल्लाका ५२ हजार २ सय ८० जनालाई खोप लगाइएको हो । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिव डाक्टर राधिका थपलियाले जिल्लामा लक्ष्यमा पुग्न नसकेपनि खोपको मात्रा अधिकांश बालिकालाई पुगेको बताउनु भयो । कोशी प्रदेशमा रहेका २ लाख ६५ हजार ९ सय १८ जना बालिकामध्ये २ लाख ३१ हजार २ सय ३० जनालाई एचपीभी खोप लगाइएको छ ।
उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार जिल्लाका १८ हजार ४ सय ९५ जना बालिकालाई एचपीभीविरुद्धको खोप लगाइको छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई एचपीभी खोप दिइएको हो । पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशत भन्दा बढी क्यान्सर एचपीभीले गराउँदछ । एचपीभीको २ सय भन्दा बढी किसिमका प्रजातिहरु हुने चिकित्सकको भनाइ छ । कम्तीमा १२ ओटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक भएको विज्ञको भनाइ छ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको विज्ञको भनाइ छ । महिलाहरुको पाठेघरको मुखको क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्गको क्यान्सर समेत गराउन सक्ने विज्ञहरुको भनाइ छ ।