INSEC Online

📅 २०८३ जेष्ठ २१

केवलकार निर्माण विवाद : आन्दोलनरत पक्षलाई वार्तामा आउन सरकारको अपील

पाथीभरा मुकुम्लुङ क्षेत्रमा केवलकार निर्माणको खारेजी माग गर्दै आन्दोलनरत पक्षलाई सरकारले पुन वार्ताका लागि अपील गरेको छ ।

केवलकार खारेजीको माग गर्दै आएको समूह र सुरक्षाकर्मीबिच ०८१ माघ १२ गते भएको झडपपछि सम्वादबाट समस्याको समाधान गर्न गृह मन्त्रालयले माघ २० गते गठन गरेको वार्ता टोलीले फागुन ९ गते विज्ञप्तिमार्फत आन्दोलनरत पक्षलाई पुन वार्ताका लागि अपील गरेको हो ।

गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराई फागुन ९ गते विज्ञप्ति जारी गरी आन्दोलनरत पक्षलाई पुन वार्ताका लागि बोलाउनु भएको छ ।

photo 202502021 taplejung (3)

सरकारले वार्ता बोलाएपनि आन्दोलनरत पक्षले वार्तामा बस्ने वा नबस्ने आधिकारीक धारणा सार्वजनिक गरेको छैन् ।

बलुडाँडा क्षेत्रमा माघ १२ गते भएको झडपपछि आन्दोलनरत पक्षले माघ १५ गतेसम्म ताप्लेजुङ बन्द र माघ १६ गतेदेखि अरूण पूर्वका नौ जिल्लामा चौविस घण्टे बन्दको आवहन गरेपछि गृह मन्त्रालयले वार्ता टोली गठन गरेको थियो ।

सरकारी वार्ता टोलीसँग आन्दोलनरत पक्षले माघ २२, २७ र २८ गते वार्ता गरेपनि समस्याको समाधान नभएपछि आन्दोलनरत पक्षले माघ २९ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको थियो । फागुन ६ गतेदेखि फागुन ८ गतेसम्म मुकुम्लुङ बचाऔँ पदयात्रा र क्षमा पूजा गर्ने विरोधको कार्यक्रम अन्तरगत फागुन ८ गते पुन काफ्लेपाटी क्षेत्रमा झडप भएको थियो ।

झडपमा आन्दोलनरत पक्षका दुई जना, सशस्त्र प्रहरीका पाँच र नेपाल प्रहरीका ६ जना गरी ११ जना घाइते भएका छन् ।

झडपमा सशस्त्र प्रहरीका हवल्दार रामप्रवेश राय यादव र सञ्जय तामाङ घाइते हुनु भएको छ । सशस्त्र प्रहरीका जवान रामप्रसाद रिजाल, किरण लोप्चन र सुमन कार्की घाइतेको सशस्त्र प्रहरीका डिएसपी नरेश मर्हजनले बताउनु भयो ।

नेपाल प्रहरीका सइ सुरेश थापा मगर, प्रहरी जवान विवेक राई, इन्स्पेक्टर विवेक बस्नेत, असइ युवराज पोखरेल, प्रहरी जवान दीपक परियार र विशाल राई घाइते हुनु भएको इन्स्पेक्टर बस्नेतले बताउनु भयो । घाइते सबै जिल्ला अस्पतालबाट डिस्चार्ज भएका छन् ।

आन्दोलनरत पक्षका दुई जना घाइते भएपनि उनीहरुको विवरण खुल्न सकेको छैन् ।

photo 202502021 taplejung (2)

आन्दोलनरत पक्ष र सुरक्षाकर्मीबिच फागुन ८ गते भएको झडपमा घाइते भएकाहरुको उद्दारका लागि गएका इन्सेक प्रतिनिधि एलिना दियाली, नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति इन्द्र गुरुङ र उद्योग वाणिज्य संघ जिल्लाका सभापति तथा रेडक्रसका आजीवन सदस्य कमल लिम्बू सवार गाडीमा आन्दोलनरत पक्षले तोडफोड गरेका थिए ।

अधिकारकर्मीमाथि भएको घटनाको निन्दा गर्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले फागुन ९ गते विज्ञप्ति जारी गर्दै अधिकारकर्मीलाई निर्वाध रुपमा काम गर्ने वातावरण मिलाउन आन्दोलनरत पक्षलाई आग्रह गर्नु भएको छ ।

Press-Statment insec 20250221 ktm

अधिकारकर्मी सवार मे १ ज २५७९ नम्वरको सवारी साधनमा तोडफोड भएपछि यातायात व्यवसायीले माघ ८ गते मध्यरातिदेखि यातायात बन्दको घोषणा गरेका थिए । आन्दोलनरत पक्ष यातायात व्यवसायीबिच फागुन ९ गते भएको वार्तापछि यातायात बन्द फिर्ता भएको छ ।

नेपाल पत्रकार महासंघ, जिल्ला शाखाले फागुन ९ गते विज्ञप्ति जारी गर्दै पत्रकारलाई सहज र स्वतन्त्र ढङ्गमा काम गर्ने वातावरण बनाउन आन्दोलनरत पक्षसँग माग गरेको छ । सचिव कृष्ण फुरुम्बो लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरिएको छ ।

photo 202502021 taplejung (1)

मुकुम्लुङ संरक्षण सङ्घर्ष समितिले केवलकार निमार्ण व्यवसायी इन्द्र केदेमले मुकुम्लुङ क्षेत्रमा भएको आन्दोलनकाे समाचार सङ्कलनका लागि पुगेका पत्रकार र युटुबरमाथि फागुन ९ गते कुटपिट गरेको विज्ञप्तिमार्फत  आरोप लगाएको छ । समाचार सङ्कलनमा गएका पुगेका पत्रकारमाथि भिजिलान्ते प्रयोग गरी आक्रमण भएको सङ्घर्ष समितिले जनाएको छ । आक्रमणको विरोध एवम् निन्दा गरिएको सरस्वता सि‌ंगकद्वारा जारी विज्ञप्तिममा उल्लेख छ ।

photo 20250221 taplejung a

अन्य

भिडियो