पाथीभरा क्षेत्रमा केवलकार निर्माणको पक्षमा सार्वजनिक रुपमा बोलेको आरोपमा धरान उपमहानगरपालिका-९ स्थित पुतली लाइनमा पदम चेञ्जी माबोलाई मोसो दलेर कुटपिट गरिएको छ ।
केवलकार निर्माणको पक्षमा बोलेको आरोपमा ताप्लेजुङ घर भएका माबोलाई ०८१ फागुन ४ गते मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, सुनसरीका कार्यकर्ताहरूले मोसो दलेर कुटपिट गरेको प्रहरीले जनाएको छ ।
केवलकार निर्माणको पक्षमा सार्वजनिक रूपमा समर्थन गरेको र केवलकार खारेजीको माग गर्नेहरुलाई गाली गरेको आरोपमा माबोलाई मोसो दल्नुका साथै भौतिक कारबाही गरी सचेत गराइएको जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देनले बताउनु भयो ।
माबोलाई कालो मोसो दल्नेमा थाम्देनसहित नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम र समितिका नेता जेन्टल लावती भएको प्रहरीले जनाएको छ ।
पीडित माबोलाई आफूलाई दुर्व्यवहार र कुटपिट गर्ने विरुद्ध प्रहरीमा उजुरी दिने बताउनु भएको छ ।
माबोलाई मोसो दलेर कुटपिट भएपटि प्रहरीले सुरक्षाका लागि इलाका प्रहरी कार्यालय, धरानमा राखेको जिल्ला प्रहरी कार्यालयका एसपी सुमनकुमार तिम्सिनाले बताउनु भयो ।
घटनाका विषयमा छानविन थालिएको प्रहरीले जनाएको छ ।

फोटो- अन्नपूर्ण पोष्ट