भोक्राहा नरसिंह गाउँपालिका-५ टपरामा रहेको अरविन्द पल्प एण्ड पेपर उद्योगले फोहोरपानी खोलामा मिसाएका कारण आँखा र छालामा समस्या भएको स्थानीयले गुनासो गरेपछि इन्सेक र अधिकारकर्मीले स्थलगत अनुगमन गरेका छन् ।
रसायनयुक्त फोहोर पानी उद्योगले वर्षौदेखि निर्वाध रूपमा सुनसरी खोला मिसाएका कारण मानवीय स्वास्थ्यसँगै जलप्रदूषण र वातावरण प्रदूषण भएको स्थानीयले गुनासो गरेपछि इन्सेकसहित अधिकारकर्मीले ०८१ फागुन २ गते स्थलगत अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा खोलामा पेपर उद्योगले फोहोर फालेको र विकार तथा रसायनयुक्त फोहर पानी मिसाएका कारण खोलाको पानी पूर्ण दुर्गन्धित भएको अनुगमनका क्रममा पाइएको छ ।
दुर्गन्ध र फोहोरका कारणले पशुचौपायलाई खुवाउन, मलामी र क्रियापत्रीहरूलाई नुहाउन समस्या भएको छ । खोलाको दूषित पानीका कारण आँखा र छालाजन्य समस्या भएको भोक्राहा नरसिंह गाउँपालिका-५ टपराका मुर्तुता मन्सुरीले बताउनु भयो । कागज उद्योगले फोहोर पानी वर्षौँदेखि खोलामा फालेका कारण आँखा र छालामा समस्या देखा पर्न थालेको मन्सुरीले बताउनु भयो ।
उद्योगका कारण १ सय बढी परिवार प्रत्यक्ष प्रभावित भएका छन् । स्थानीय अब्बदुला मन्सुरीले उद्योथका कारण आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमा समेत प्रभाव पारेको बताउनु भयो । उहाँले अनुगमन टोली समक्ष उद्योगले रसायनयुक्त फोहोर पानी खोलामा फालेका कारण हिन्दूहरूले छठ पर्व समेत खोला फोहोर भएकाले मनाउन छाडेर घरमै पोखरी खनेर मनाउनुपर्ने अवस्था रहेको बताउनु भयो । स्थानीयले वायु, जल र वातावरण प्रदूषण गराएको भन्दै उद्योगलाई कारबाहीको माग गरेका छन् ।
स्थानीय जमरुदिन मियाँले पेपर बनाउन पसाल, भुष र फोहोर कागजलाई गलाउन प्रयोग गर्ने रसायन र तताउनका लागि प्रयोग गरेको आगोको धुँजा र छाइसहित उद्योगबाट निस्किने फोहोरका कारण सुनसरी खोला प्रदूषित भएको बताउनु भयो ।
खोला किनारमै सञ्चालित पेपर उद्योगले फोहोर व्यवस्थापनमा ध्यान नदिएको र वातावरण प्रदूषणमा ख्यालै नगरी खोलामा फोहोरमैला मिसाइ प्रदूषित बनाइरहेको अनुगमनका क्रममा पाइएकाले उद्योगमाथि कारबाही गर्नुपर्ने अधिकारकर्मी नुनु साहले बताउनु भयो ।
स्थानीय सरकारले ध्यान नदिएकाले सुनसरी खोला प्रदूषित भएको र त्यसको असर इनरुवा नगरपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकाको पूर्वी तथा दक्षिणवर्ती क्षेत्रका नागरिकहरूलाई इन्सेकको अनुगमन टोलीलाई स्थानीय रमेश यादवले गुनासो गर्नुभयो ।
यादवले सरकारले वातावरण प्रदूषण ऐन अन्तर्गत उद्योगलाई कारबाही गर्नुपर्नेमा नियमन नभएका कारण उद्योगले मनोमानी गरी खोलामा वर्षौँदेखि फोहोर फाल्ने गरेको बताउनु भयो ।
इन्सेक अनुगमनका क्रममा उद्योगबाट निस्कने फोहोर पानी सोझै नदीमा मिसाउने गरेको पाइएको छ । मानवअधिकार रक्षकहरूले फागुन २ गते गरेको अनुगमनका क्रममा उद्योगीले आफ्ना उद्योगमा ट्रिटमेन्ट प्लान्ट राखेर सहयोग गर्नुपर्नेमा उद्योगीहरुले नकुहिने प्लाष्टिक र फलामटिनासहितको फोहोर पनि खोलामा मिसाएको र केही बाहिर जलाएर प्रदूषण गरेको अनुगमनका क्रममा पाइएको हो ।
अनौचारिक क्षेत्र सेवा केन्द्र इन्सेकलाई स्थानीयले उद्योगका कारण पीडित भएको गुनासो आएपछि मानव अधिकार रक्षकसँग समन्वय गरेर गरेको अनुगमनका क्रममा फोहोर पानी सोझै खोलामा मिसाएको पाइएको अधिकारकर्मी राजकुमार शर्माले बताउनु भयो ।
जिल्लाको नामाकरण भएको सुनसरी खोला रामधुनी बराहक्षेत्रबिच हुँदै इनरुवादक्षिण भएपछि उद्योगको फोहोरले दूषित खोलामा परिणत भएको छ ।
उद्योगबाट उत्सर्जित हुने रसायनयुक्त प्रदूषित पानी र फोहोर पदार्थ सिधै नदीमै फ्याल्ने गरेका कारण तीन दशकयता सुनसरीखोला प्रदूषित भएको छ ।
खरानी, लेदोलगायतका विकार प्रशोधन नगरी नदीमा सिधै बगाउने र फालिने भएकाले खोला प्रदूषित र दुर्गन्धित भएको इनरुवा नगरपालिका-९ बबियाका गंगारा खत्वेले बताउनु भयो ।
खोला आसपासका स्थानीयवासीले प्रदूषण रोक्न माग गर्दै पटक-पटक आन्दोलन समेत गर्दै आएका छन् । अरविन्द पल्प एण्ड पेपर मिल्सका प्रशासन प्रमुख पारस अग्रवालले आफूहरूले फोहोर प्रशोधन गरेको र खोलामा फोहोर सिँधै नफालेको बताउनु भयो । अग्रवालले आफ्नै सात विगाहा जमिनभित्रै फोहोरको व्यवस्थापन मिलाइएको बताउनु भएको छ ।


