आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतबाट आठ वर्ष ११ महिना ११ दिन कैद सजायको फैसला भएपछि फरार भएका कसुरदारलाई प्रहरीले गिरफ्तार गरेको छ ।
जिल्ला अदालतबाट ०७६ असार २९ गते कैद सजाय आदेश भएका मादी नगरपालिका-८ का ४१ वर्षीय गौतम लिङ्थेपलाई प्रहरीले ०८१ फागुन १ गते गिरफ्तार गरेको हो ।
पीडित बालिकालाई आरोपितले ०७५ फागुनमा बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०७५ फागुन २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितविरुद्ध प्रहरीले जिल्ला अदालतमा ०७५ फागुन २७ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।
जिल्ला अदालतका न्यायाधीश प्रकाश राउतको ०७६ असार २९ गतेको आदेशले कैद सजायसँगै पीडितले पाउने गरी ३० हजार रुपियाँ कसुरदारबाट भराउन आदेश दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७५ फागुन २० गते गरिएको थियो ।