स्थानीयहरु बालबच्चा बोकेर रोजगारी खोज्न भारत हिँडेपछि पुचौँडी नगरपालिकाको एक विद्यालय पूर्ण रूपमा बन्द भएको छ । पुचौँडी नगरपालिका–७ ऐराडीगाउँमा ०५० सालमा स्थापना भएको लटिनाथ आधारभूत विद्यालयमा १० वर्ष अघिसम्म १ सय ५० विद्यार्थी पढ्न आउने गरेकामा केही वर्षयता विद्यार्थी सङ्ख्या घट्दै १५ जनामा झरेपछि विद्यालय बन्द भएको हो ।
ऐराडीगाउँको लटिनाथ आधारभूत विद्यालयमा अधिकांश दलित बालबालिका अध्ययनरत थिए । दलितवस्तीका मानिस बालबच्चा साथमा लिएर भारतको बैङ्लोर, पिथौरागढलगायतका सहर पसेपछि विद्यालय नै बन्द भएको छ । विद्यालयमा अध्ययन गर्ने बालबालिका नै नभएपछि नगरपालिकाले शैक्षिक सत्र २०८१ देखि विद्यालय बन्द गर्ने निर्णय गरेको पुर्चौडी नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्रप्रसाद जोशीले बताउनु भयो ।
रोजगारी खोज्न भारत पलायन हुने र गाउँबाट बसाइँ सरेर जाने दर बढेपछि पुर्चौडी नगरपालिकाभरि नै विद्यार्थी सङख्या घट्दो क्रममा रहेको शिक्षा शाखा प्रमुख जोशीले बताउनु भयो ।
महिला र पुरुषको सक्रिय जनशक्ति गाउँबाट पलायन हुँदा गाउँवस्तीमा केही बुढापाका मात्रै घर कुरेर बसेको भेटिएका छन् । छोराबुहारीले नातिनातीना समेत साथमै लगेर भारत हिँडेपछि गाउँ रित्तिन थालेको दलितवस्तीका अगुवा ६२ वर्षीय सोपी लुहारले बताउनु भयो । गाउँमा ज्याला मजदुरीको केही काम नपाउँदा दिक्क भएर केटाकेटी बोकेरै छोराबुहारी भारत हिँडेपछि गाउँघर नै सुनसान भएको उहाँले बताउनु भयो ।

दलितवस्तीका अधिकांश बालबालिका आमाबुवासँगै हिँडेपछि विद्यालय बन्द भएको शिक्षक गणेशबहादुर ऐरीले बताउनु भयो । दलितवस्तीमा रहेको लटिनाथ आधारभूत विद्यालयमा २० वर्षसम्म शिक्षण गरेका शिक्षक ऐरीले ३१ वर्षपछि विद्यालय बन्द हुँदा नरमाइलो लागेको बताउनु भयो ।
उहाँले भन्नुभयो, “विद्यालयका तीन ओटा भवनमा आठ कोठा छन् । शौचालय, खानेपानी, दिवा खाजा पकाउने घर सबै सुनसान बनेका छन् । राज्यको लगानी खेर जाने भयो । रोजगारी खोज्न गएका अभिभावक एक दिन त स्वदेश फर्किनु पर्ला तर बालबालिकाको भविष्य बर्बाद बन्ने भयो ।”
ऐराडीगाउँमा रहेका आधारभूत विद्यालय बन्द भएपछि शिक्षक अर्काे गाउँमा रहेको दशरथ आधारभूत विद्यालयमा सरुवा भएका छन् । ऐराडीका केही बालबालिका सोही वडाको बड्गाउँस्थित गलिनाथ माविमा पढ्न आउने गरेको प्रधानाध्यापक दिनेश नागरीले बताउनु भयो ।
स्थानीय तहको पुनर्सचनापछि ऐराडीगाउँमा सडक पूर्वाधार जस्ता सेवा सुविधा पुगे पनि गाउँवस्तीमा रोजगारी नहुँदा भारत पलायन हुनेको सङ्ख्या बढ्न थालेको छ । पुरुषले चौकीदारी गर्ने र महिलाले घरको काम पाउने भएकाले बालबच्चासहित भारतको बैङ्लोर पुगेको बैतडीका अर्जुन विश्वकर्माले बताउनु भयो ।
झुलाघाट सीमानाकाको प्रहरी चौकीको तथ्याङ्क अनुसार गएको पुस मसान्तसम्म २ हजार ५ सय नेपाली भारत गएका छन् । रोजगारीका लागि भारत जानेमा बालबच्चासहित महिलासमेत छन्। पुस महिनामा मात्रै ८ सय ४६ महिला भारत गएको प्रहरीको तथ्याङ्क छ ।