दक्षिणी भेग क्षेत्रका स्थानीय नागरिक कर्णालीको धमिलो पानी पिउन बाध्य भएका छन् । कर्णाली कोरिडोरको हुम्ला र बाजुरा खण्डमा पर्ने छेउछाउका बस्तीका स्थानीय बासिन्दा नदी तथा खोलाको धमिलो पानी खान बाध्य भएका हुन् । विगत लामो समयदेखि नै ती बस्तीका बासिन्दाका लागि खानेपानीको व्यवस्था हुन नसकेपछि खोलाकै धमिलो पानी प्रयोग गर्नु परेको हो ।
कर्णाली कोरिडोरको छेउको ताँजाकोट गाउँपालिका–५ को पैमाका स्थानीय बासिन्दा कलबहादुर थापाले बर्षौदेखि खोलाको धमिलो पानी खानुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । पैमामा १२ घरधुरीका स्थानीयले होटेल तथा पसल व्यवसाय गर्दै आएका छन् ।
उहाँले सरोकारवाला निकायसँग पटक पटक खानेपानीको व्यवस्थाका लागि माग गर्दा सुनुवाइ हुन नसकेपछि धमिलै पानी खानु परेको उल्लेख गर्नुभयो । हिउँदेयाममा कम धमिलो भए पनि बर्खायाममा भने लेदो मिसिएको पानी कपडामा छानेर खानु परेको छ । नयाँ खानेपानीको व्यवस्था नहुँदासम्म कर्णाली नदी र खोलाकै पानी प्रयोग गर्नुको विकल्प नभएको स्थानीय धनराज ढकालले बताउनु भयो ।
सर्केगाड गाउँपालिका–१ को बालुकुनाका स्थानीय पदम मल्लले आफू बालुकुनामा होटेल व्यवसाय गरेदेखि कर्णाली नदीको पानी प्रयोग गरिरहेको बताउनु भयो । यता चङ्खेली गाउँपालिका र सर्केगाड गाउँपालिकाको सिमाना सलीसल्लामा होटेल व्यवसाय गर्दै आउनुभएकी मैया बुढाले पाँच वर्षदेखि कर्णालीको पानी प्रयोग गर्दै आएको बताउनु भयो । यसअघि सलीसल्लामा १ सय ५० जनाले व्यवसाय गर्दै आएकामा हाल १० जनाले मात्रै गरिरहेका छन् ।
यसका विषयमा ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसी र अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंलाई बुझ्दा उहाँह दुवै जनाले अस्थायी बसोबास भएकाले तत्काल खानेपानीको व्यवस्था गर्न नसकिएको बताउनु भएको छ ।