गत जेठ महिनामा आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको छाना उडाएको भए पनि हलसम्म मर्मत नहुँदा विद्यार्थीहरु खुला आकाशमूनी बसेर पठनपाठन गर्न बाध्यभएका छन् ।
हावाहुरीले छाना उडाएको बडिकेदार गाउँपालिका वडा नम्बर २ सडेखानस्थित जनता माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी कक्षा कोठा भित्र खुल्ला आकाश मुनि बसेर पढ्न बाध्य भएका हुन् ।
हावाहुरीले विद्यालयको दुई कोठे भवनको छाना उडाए नौ महिना बितिसक्दा पनि मर्मतसम्भा हुन नसकेपछि कक्षा ६ मा अध्ययनरत २१ ज्ना र कक्षा ७ मा अध्ययनरत १८ विद्यार्थी गरी ३९ जना विद्यार्थीहरु खुला आकाशमूनी बसेर पढ्न बाध्य भएको विद्यालयले जनाएको छ ।

चिसो मौसममा खुल्ला आकाशमूनि बसेर पढ्न समस्या भइरहेकोले नियमित पठनपाठन प्रभावित हुँदैआएका अध्ययनरत विद्यार्थीहरुको गुनासो छ ।
विद्यालयका प्रधानाध्यापक जङ्गबहादुर नामजालीले विद्यालयको आयस्रोत नभएका कारण मर्मतसम्भार गर्न नसकिएको र गाउँपालिकाले उपलब्ध गराएको १ लाख रुपियाँबाट हावाहुरीले उडाएको छत मर्मत गर्न नसकिने भएकोले थप बजेटका लागि समेत गाउँपालिकालाई अनुरोध गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो– निजी ‘शिक्षकलाई तलब खुवाउन समेत समस्या छ । गाउँपालिकाबाट छुट्याएको १ लाख रुपियाँले जस्तापाता खरिद गर्न रकम पुग्ने भए पनि काठ खरिद गर्न बजेट पुग्दैन् । समान्य रुपमा मर्मत गर्दा पुनः हावाहुरीले क्षति पुगाउने भएकोले गाउँपालिकासँग थप रकम माग गरेका छौँ ।’

विपद् व्यवस्थापन कोषबाट स्कुलको छाना मर्मतको लागि १ लाख रुपियाँ छुट्याइएको र विद्यालयले हालसम्म पनि प्रक्रिया अगाडी नबढाएका कारण विद्यार्थीहरु खुला आकाशमूनी बस्न बाध्यभएको गाउँपालिका कार्यालयले जनाएको छ ।
विद्यालय मर्मतका लागि गत असार महिनामा १ लाख रुपियाँ बजेट छुट्याएको भए पनि सो रकमले समस्या समाधान नहुँने विद्यालयले बताएपछि आगामी हिउँदे अधिवेशनबाट विद्यालयको छत लेन्टर गर्ने गरी बजेट छुट्याउने योजना बनाइएको बडिकेदार गाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रेमबहादुर घर्तीमगरले बताउनु भयो ।