INSEC Online

📅 २०८३ जेष्ठ २१

‘क’ वर्गको अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण

जिल्ला प्रशासन कार्यालयले ‘क’ वर्गका अपाङ्गता भएका रेसुङ्गा नगरपालिका–७ का १७ वर्षीय बालकलाई माघ १८ गते घरमै पुगेर नागरिकता वितरण गरेको छ ।

Photo02022025Gulmi1

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी र प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले संयुक्त रुपमा बालकलाई नागरिकता प्रदान गर्नुभएको हो । उहाँ २०६४ फागुन १७ गते जन्मिनु भएको थियो । जन्मिएको दुई वर्षमा शरीर चल्न छोडेको थियो । बिरामी परेर पूर्ण अशक्त भएपछि बिस्तारामै दिसा पिसाब गराउने गरिएको आमा गोमा मरासिनीले बताउनु भयो । उहाँका दुई छोरा एक छोरी छन् । कान्छो छोरा सानैबाट अपाङ्ग भएपछि आफूले नै सबै स्याहारसुसार गरे पनि नागरिकता बनाउन बोकेर प्रशासन जान नसकेको बताउनु भयो । प्रशासन घरमै आएर छोरालाई नागरिकता दिएपछि गोमा निकै खुसी हुनुभयो । ‘छोराको अपाङ्गताले निकै पीडा दियो । म बाँचुन्जेल सेवा गर्छु । छोराले नागरिकता पाउँदा राहात र घरमै सरकार भएको महसुस गरेँ ’ – उहाँले भन्नुभयो । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले अपाङ्गता भएर अनागरिक कोही पनि हुन नपर्ने बताउनु भयो । उहाँले सूचना पाएसम्म प्रशासन घरमै पुगेर नागरिकता प्रदान गरिरहेकाले सहजीकरणको लागि सबैलाई आग्रह गर्नुभयो ।

रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले आफूहरूले पञ्जिकरणका अधिकांश काममा नागरिकाई घरदैलोमै सेवा प्रदान गरिरहेको बताउनु भयो । जिल्ला प्रशासन कार्यालयले इन्सेककै पहलमा पनि थुप्रै अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।

Photo02022025Gulmi

अन्य

भिडियो