INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

आठराई गाउँपालिका-५ छातेढुङ्गाका ५५ वर्षीय धनपति प्रसाईलाई जिउँदै आगो लगाइ हत्या प्रयास गरेको आरोपमा प्रहरीले चार जनालाई माघ १९ गते गिरफ्तार गरेको छ ।

आपसी विवादका क्रममा ०८१ माघ १७ गते प्रसाईलाई कुटपिट गरी जिउँदै आगो लगाएर हत्या प्रयास गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका-५ का ४० वर्षीय धनबहादुर जिम्बा, ३० वर्षीय अशोक जिम्बा, २० वर्षीय वसन्त थिङ्ग र १८ वर्षीय चन्द्रबहादुर मोक्तानलाई माघ १९ गते गिरफ्तार गरेको हो ।

आपसी विवादका क्रममा आरोपितहरुले धनपतिलाई माघ १७ गते सामूहिक रुपमा कुटपिट गरी आठराई गाउँपालिका ४ चिसापानीमा जिउँदै सेउला र झिक्राले छोपेर आगो लगाइ हत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।

आगोले प्रसाइको दायाँ कानको भाग जलेको प्रहरीले जनाएको छ ।

घटनाका आरोपितविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय, आठराईमा माघ १८ गते उजुरी दिएको आठराई गाउँपालिका-५ का वडाध्यक्ष विष्णुप्रसाद ओलीले बताउनु भयो ।

घाइते प्रसाइको जिल्ला अस्पताल, पाँचथरमा माघ १७ गते प्राथमिक उपचारपछि थप उपचारका लागि झापाको विर्तासिटी अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रमोद खड्काले बताउनु भएको छ ।

अन्य

भिडियो