चन्द्रनिगाहपुर नगरपालिका-४ स्थित बञ्जरा कम्प्लेक्समा सञ्चालित चन्द्रपुर स्केट पार्क तथा स्केटिङ्ग हाउसमा नगरपालिकाले ०८१ मघ १३ गते तालाबन्दी गरेको छ ।
उक्त पार्कमा १६ र १७ वर्षीया बालिकाहरूलाई काममा लगाई बाल श्रम शोषण गरेको भन्दै चन्द्रनिगाहपुर नगरपालिकाको कार्यालयमा ०८१ मघ १० गते उजुरी दर्ता भएको थियो । उजुरी उपर छलफलका लागि पार्कका सञ्चालकद्वय प्रेम चौधरी र अनिकित राय दासलाई पटकपटक बोलाउँदा नआएकोले नगरपालिकाका उपप्रमुख जयमाला चौधरीको नेतृत्वमा चन्द्रनिगाहपुर नगरपालिका-४ र नगरस्तरीय बाल सञ्जालका प्रतिनिधि सहितको अनुगमन टोलिले माघ १३ गते स्केटिङ्ग पार्कमा तालाबन्दी गरेको उपप्रमुख चौधरीले बताउनुभयो ।
अनुगमनको क्रममा पार्क दर्ता नभएको र चर्को शुल्क लिई असुरक्षित तरिकाले १६ र १७ वर्षका बालिकाहरूलाई प्रयोग गरी बाल श्रम शोषण गरेकोले तालाबन्दी गर्नुपरेको चन्द्रनिगाहपुर नगरपालिका बालबालिका संरक्षण समितिका संयोजक चन्द्रकला बरालले जानकारी दिनुभयो ।
उपप्रमुख चौधरीको नेतृत्वमा चन्द्रनिगाहपुर नगरपालिका-४ का अध्यक्ष रवि राना, बाल संरक्षण समितिका सदस्य प्रेमा तिमल्सिना, छोरी संस्थाको कोपिला तिमल्सिना, आरडिसिका ज्योति फुयाल, बाल कल्याण अधिकारीका विशाल तामाङ लगायतको संयुक्त टोलीले बालबालिकाहरूको हित विपरित हुने गरी सञ्चालनमा रहेकोले तालाबन्दी गरेको चन्द्रनिगाहपुर नगरपालिका-४ अध्यक्ष रवि रानाले जानकारी दिनुभयो ।