१७ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालत गौरले ०८१ माघ ८ गते राजदेबि नगरपालिका-६ का १९ वर्षीय मानजन भनिने जयचन्द्र सहनीलाई दुई वर्ष ६ महिनाको कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश शम्भुप्रसाद रेग्मीको माघ ८ गतेको इजलासले कसुर ठहर गर्दै दुई वर्ष ६ महिना कैद र ६ सय रुपियाँ जरिवानाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार उद्धब ढोडारीले जानकारी दिनुभयो ।
पीडित बालिकालाई ०७५ असार २० गते आरोपितले बलात्कार प्रयास गरी फरार भएको भन्दै पीडित पक्षले सोहि दिन जिल्ला प्रहरी कार्यालय गौरमा उजुरी दिनुभएको थियो । आरोपित फारार भएको हुनाले मुद्दा मुल्तबिमा राखिएको र ०७७ असार १ गतेको आदेशले मुल्तबिबाट फौजदारीमा जाने अनुमति दिएको थियो । फरार आरोपितलाई उपस्थित गराउन ०८० साउन २८ गते जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो ।
पीडितको स्वास्थ्या परीक्षण जिल्ला (हालको प्रादेशिक) अस्पताल गौरमा ०७५ असार २० गते भएको थियो ।