गोरखा जिल्ला फुजेल गाविस-७ का १८ वर्षीय कृष्णप्रसाद अधिकारी हत्या घटनाका सम्बन्धमा प्रधानन्यायाधीश गोपाल पराजुलीले चासो दिएका छन् ।
‘चितवन अदालतमा दुई वर्षपुराना मुद्दाहरू बाँकी रहेको सुनेको छु?’ मङ्सिर ४ गते चितवन अदालतमा भएको स्वागत कार्यक्रममा निर्देशन शैलीमा प्रधानन्यायाधीश पराजुलीले भने-‘त्यो मुद्दा छिट्टै टुङ्गो लागोस् ।’
राजनीतिक घटना विशेष गरी माओवादी युद्धकालसँग जोडेर कतिपयले यस मुद्दालाई हेरिरहेका छन् । केहीले अधिकारी हत्यामा आफन्तहरू मुछिनु नितान्त पारिवारिक आग्रह पूर्वाग्रह भएको बताएका छन् । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दामा ०७४ मङ्सीर २५ गते सोमबारका लागि १८ औँ पटक पेशी तोकिएको छ । चितवन अदालतमा पुरानो मुद्दा यही मात्र हो ।
म फैसला गर्छु
१३ वर्षअघिको घटनामा अदालतले अझैसम्म फैसला गर्न सकेको छैन । आवश्यक प्रमाणहरू जुटाए पनि न्यायाधीशहरू यस मुद्दामा हात हाल्न अप्ठेरो मानिरहेका छन् ।
हाल यस मुद्दा चितवन अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा छ । ‘निर्वाचनमा व्यस्त हुँदा यो मुद्दा हेर्न नभ्याइएको हो । न्यायाधीश शर्माले भने-‘चुनाव सकिने बित्तिकै म फैसला गर्छु’ आवश्यक सबै प्रमाणहरू बुझिएकाले अब फैसाला गर्न कुनै समस्या नभएको न्यायाधीश शर्माले बताए । फैसला आफ्नै पालामा हुनेसमेत उनले बताए ।
मुद्दाको प्रगति
प्रमाण बुझ्ने र वकपत्र लिने काम सकिएको भन्दै अदालतले अन्तिम पेशी ०७३ असोज ९ गतेका लागि तोकेको जानकारी दियो । तर, फैसला हुन सकेन । आमा गङ्गामायाले ०७३ भदौ २७ गते अनसन तोडेकी थिइन् । चितवन अदालतका श्रेष्तेदार सहितको टोलीले ०७३ असोज २ गते वीर अस्पतालमै पुगेर गङ्गामायासँग वकपत्र गरेका थिए ।
वैशाख २३ गते जाहेरवाला बुझ्ने आदेश भएको थियो भने ०७२ फागुन २७ गते साक्षी वकपत्रको आदेश अदालतबाट भएको थियो । ०७२ फागुन २७ गतेबाट पेशी सर्दै आएको हो । अहिले १८ औँ पटक पेशी चढाइएको छ । तत्कालीन जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलासले लिखित बहस नोट पेश गर्न ०७३ असोज ११ गते दिएको आदेश बमोजिम ०७३ कात्तिक ५ गते बहस नोट अदालतमा पेश भएको थियो ।
सर्वोच्चको आदेश
०७२ पुस ६ गते ‘कृष्णप्रसाद अधिकारीको मृत्यु कर्तव्यबाट भएको कुरा विवाद छैन ।’ भन्दै सर्वोच्चले आरोपितहरूमध्ये छविलाल पौडेललाई पूर्पक्षका लागि थुनामा राखी अनुसन्धान गर्न चितवन जिल्ला अदालतलाई आदेश परिपत्र गरेको थियो ।
यस घटनामा १३ जना आरोपितमध्ये छविलालको हकमा भने चितवन जिल्ला अदालत र पुनरावेदन अदालत हेटौँडाको आदेश उल्टाउँदै सर्वोच्चले ०७२ पुस ६ गते यस्तो आदेश गरेको हो ।
चितवन अदालतको ०७२ वैशाख ४ गतेको आदेशले आरोपितहरूमध्ये सात जना धरौटीमा छुटेका थिए भने बाँकी शुद्ध तारेखमा छुटेका थिए । पुनरावेदन अदालतले असार ४ गते जिल्ला अदालतको आदेश सदर गरेको थियो । आरोपितहरू अहिले पनि चितवन अदालतमा तारेख धाइरहेका छन् ।
जाहेरीको शिलशिला
छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएको भन्दै उनका बावु नन्दप्रसाद अधिकारीले ०६१ जेठ २५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए । त्यस उजुरीमा कुनै पनि नाम किटानी थिएन ।
पहिलो उजुरी दिएको १ वर्ष ६ महिनापछि उनले आरोपितहरूको नाम नै किटान गरेर पुनः प्रहरीमा उजुरी दिएका थिए । प्रहरीमा थन्किएर बसेको मुद्दा झण्डै १० वर्षपछि ०७१ चैत ३० गते चितवन जिल्ला अदालतमा दर्ता भएको थियो । प्रहरी प्रतिवेदनको आधारमा १३ जनाविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गराएका थिए ।
छविलाल अझै फरार
गोरखा जिल्ला फुजेल गाविस-७ का १८ वर्षीय कृष्णप्रसाद अधिकारी हत्या आरोपितमध्ये छविलाल पौडेललाई पुर्पक्षका लागि थुनामा राखी अनुसन्धान गर्न आदेश दिए पनि उनी हालसम्म गिरफ्तार परेका छैनन् । सर्वोच्चले आदेश गरेको दुई वर्षनाघिसकेको छ ।
छोराको हत्या छविलाल पौडेलबाटै भएको भनी कृष्णप्रसाद अधिकारीका बावु नन्दप्रसाद र आमा गङ्गामाया अधिकारीको आरोप छ । छोराको हत्यारालाई कारबाही गरी न्याय दिलाउन भन्दै उनीहरू अनसनमा बसेका थिए । अनसनमै रहँदा नन्दप्रसादको मृत्यु ०७१ असोज ६ गते वीर अस्पतालमै भएको थियो ।