गोलबजार नगरपालिका-१० का २४ वर्षीय रंजन भनिने जितेन्द्र यादवलाई बुबाको हत्या गरेको कसुरमा जिल्ला अदालत सिरहाले १० वर्ष कैद तथा १ लाख रुपियाँ जरीवाना र २५ हजार रुपियाँ क्षतीपुर्तीको फैसला ०८१ पुस २५ गते गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश नारायण रिमालको एकल इजलाशले सो फैसला गरेको हो ।
आरोपितले ५२ वर्षीय बुबा चन्दर यादवलाई ०८१ वैशाख १८ गते घरायसी विवादका कारण कुटपिट गरी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारमा वैशाख २१ गते मृतकका पत्नी पार्वती देवी यादवले उजुरी दिएकी थिइन् । पीडित परिवारका अनुसार घरायसी विवाद हुदा आरोपितले बुबालाई कुटपिट गरी घाइते बनाएको र उनलाई उपचारको लागि बिराटनगरस्थित न्यूरो अस्पतालमा लगेकोमा उपचारको क्रममा वैशाख २१ गते मृत्यु भएको थियो । शवको पोष्टमार्टम वैशाख २१ गते बिराटनगरस्थित कोशि अस्पतालमा भएको थियो ।
इलाका प्रहरी कार्यालय गोलबजारले आरोपितलाई वैशाख १८ गते गिरफ्तार गरी कारबाही प्रकृया अगाडि बढाएको थियो । जिल्ला अदालतको आदेशमा आरोपित जेठ १७ गते देखि पुर्र्पक्षका लागि थुनामा रहेका थिए ।