INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गता भएका व्यक्तिलाई एकसाथ नागरिकता र अपाङ्गता परिचयपत्र

शारिरीक अपाङ्गता भएका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसकेकाहरूलाई जिल्ला प्रशासन कार्यालयले घरघरमै पुगेर एकसाथ नेपाली नागरिकताको प्रमाणपत्र र अपाङ्गता परिचयपत्र उपलब्ध गराएको छ ।

जिल्ला प्रशासन कार्यालयले ऐंसेलुखर्क गाउँपालिकामा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई घर-घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्रका साथ अपाङ्गता परिचयपत्र उपलब्ध गराएको हो ।

गाउँपालिकाको पहल तथा व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालयले पूर्ण रूपमा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई नागरिकता र अपाङ्गता परिचयपत्र घरघरै पुगेर उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनु भयो ।

नेपालको संविधानले व्यवस्था गरे अनुरूप कोही पनि नागरिक नागरिकताबाट वञ्चित नहुन भनेर घरदैलो सेवा प्रवाह गरेको प्रमुख जिल्ला अधिकारी कार्कीले बताउनु भयो ।

ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले जिल्ला प्रशासन कार्यालयको टोलीले शारीरिक रूपमा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई घरघरै पुगेर नागरिकता उपलब्ध गराएको बताउनु भयो । वडाध्यक्ष राईले भन्नुभयो ‘शारीरिक रूपमा पूर्ण अपाङ्गता भएकाहरू प्रशासनसम्म पुग्न नसक्दा नागरिकताबाट वञ्चित हुनु परेको थियो,’ अब उहाँहरूले एकैपटक नेपाली नागरिकताको प्रमाणपत्र र अपाङ्गता परिचयपत्र पाउनु भएको छ ।

गाउँपालिकाका जनप्रतिनिधिको सिफारिसका आधारमा ऐंसेलुखर्क-२ राखाबाङ्देलका २१ वर्षीय सलिना राई र ४१ वर्षीय दीपक राईलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । जलेश्वरीका चार जनालाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत लीलाबहादुर विश्वकर्माले बताउनु भयो । जलेश्वरीका २१ वर्षीय कमलप्रसाद अधिकारी, १९ वर्षीय सुजन पुरी, ५० वर्षीया जुनमायाँ राई र २५ वर्षीय भक्त तामाङलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ ।

राखाबाङ्देलका २० वर्षीय भानुभक्त राई र ५० वर्षीया कालीमायाँ राईलाई पनि घरैमा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार जिल्लाका १० स्थानीय तहमा ४ हजार ९ सय २२ जना विभिन्न प्रकृतिका शारीरिक अपाङ्गता भएका व्यक्तिहरू छन् ।

नेपालको संविधान,२०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था छ ।

धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने उल्लेख छ ।

Photo 20250102 khotang (4)

Photo 20250102 khotang (3)

Photo 20250102 khotang (2)

Photo 20250102 khotang (1)

अन्य

भिडियो