INSEC Online

📅 २०८३ जेष्ठ २१

खोप लगाएपछि बालकको मृत्युभएको परिवारजनको आरोप, घटनाको छानविनको माग !

डिलाशैनी गाउँपालिका–३ सिमार बर्थिङ सेन्टरमा खोप लगाएका दुई महिने बालकको मृत्यु भएपछि घटनाको छानविन र क्षतिपूर्तिको माग राख्दै बालकका आफन्त आन्दोलित बनेका छन् ।  डिलासैनी गाउँपालिका–२ छेपट्टा गाउँका मुकेश रानाका दुई महिने छोरा आदर्श रानाको मृत्यु भएपछि अभिभावक सहित स्थानीय आन्दोलित भएका हुन् ।

बालकलाई ०८१ पुस १० गते दिउँसो १२ बजे बर्थिङ सेन्टरमा पोलियो रोगविरुद्धको ओपिभी, झाँडापखाला विरुद्धको रेटा, निमोनिया विरुद्धको पिसिभी खोप र भ्यागुते रोग विरुद्धको पेन्टा औषधी मुखबाट खुवाइएको थियो । खोप लगाएर दिउसो ३ बजे घर फर्किदा बालकलाई ज्वरो आएको थियो । बालकले राती मुखबाट र्‍याल र फिँज निकाल्न थालेपछि गोकुलेश्वर अस्पताल, दार्चुला लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि डडेल्धुरा अस्पताल लैजाने क्रममा बालकको पुस १० गते राति बाटोमै मृत्यु भएको थियो ।

photo20241226baitadi

बर्थिङ सेन्टरमा बालकलाई पोलियो रोग विरुद्धको ओपिभी, पिसिभीको पहिलो डोज र डिपिटी दोस्रो डोज खोप लगाइएको थियो । त्यसैगरी ओपिभी र रोटा डोज खुवाइएको थियो ।

घटनापछि निश्पक्ष जानबिन र क्षतिपूर्तिको मागराखि आफन्त र स्थानीयले दार्चुला–बैतडी–गोकुलेश्वर सडक अवरुद्ध गरेका छन् । बर्थिङ सेन्टरमा दुई जना बालकलाई सोही प्रकृतिको खोप लगाएकाले अर्का बालकलाई केही नभएकाले खोपकै कारण मृत्यु भएको भन्न नसकिने स्वास्थ्य कार्यालय, बैतडीका निमित्त कार्यालय प्रमुख तिर्थराज भट्टले बताउनु भयो ।

उहाँले भन्नुभयो, “खोप लगाएका बालकको मृत्यु भएको विषयमा क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई खबर गरी अनुसन्धान टोली पठाइदिन माग गरेका छौँ । पोस्टमार्टम र विज्ञ टोलीले अनुसन्धान गरेपछि मात्रै मृत्युको कारण खुल्न सक्छ ।”

घटनापछि गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय वडाध्यक्ष, स्वास्थ्यकर्मी र सुक्षाकर्मीको टोलीले स्थानीयहरूसँग छलफल गरिरहेको भट्टले जानकारी दिनु भयो ।

photo20241226baitadi

बालकको मृत्युपछि अभिभावक र स्थानीयले सडक अवरुद्ध गरेपछि स्थानीय जनप्रतिनिधि र अभिभावकबीच छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय,बैतडीका सूचना अधिकारी पवनकुमार शाहीले बताउनु भयो । सुरक्षाका लागि प्रहरी टोली खटिएको समेत उहाँले बताउनु भयो ।

अन्य

भिडियो