INSEC Online

📅 २०८३ जेष्ठ २१

गर्भपतन घटनाका फरार आरोपित गिरफ्तार

तिलाठी कोइलाडी गाउँपालिका-४ कोइलाडीकी २२ वर्षीया रन्जुदेवी मण्डललाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा फरार रहेका सोही ठाउँका ३७ वर्षीय श्रीराम भनिने शिवेन्द्र मण्डललाई प्रहरीले ०८१ पुस २ गते गिरफ्तार गरेको छ ।

धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका आरोपित मण्डल अदलतको कैदसहित जरिबानाको फैसलापछि फरार रहेकोमा कोइलाडी बर्साइन प्रहरी चौकीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मनिष श्रेष्ठले जानकारी दिनुभयो ।

आरोपित र उनका दाजु ३९ वर्षीय शिवशंकर मण्डलले २०७९ जेठ ९ गते कुटपिट गरी गर्भपतन गराएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा ०७९ जेठ १० गते उजुरी दिनुभएको थियो । बाख्रा चराउन गएका पीडितका पति अनिलले आरोपितहरूले पालेको कुकुरलाई कुटेको भन्दै घरमा आई लछारपछार गर्दै कुटपिट गर्दा पीडितको सात हप्ताको गर्भपतन भएको थियो । पेटमा चोट लागेर रक्तस्राव हुन थालेपछि जेठ १० गते जाँच गराउँदा चिकित्सकले गर्भपतन भएको पुष्टि गरेका थिए ।

पीडितको उजुरी पछि प्रहरीले आरोपित शिवशंकरलाई ०७९ जेठ १९ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतमा ०७९ असार १२ गते मुद्दा दर्ता भएकोमा जिल्ला न्यायाधीश इश्वरमणि ओझाको इजलासले ०७९ असार १३ गते आरोपित ३० हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए । अदालतमा हाजिर भएका आरोपित शिवेन्द्र जिल्ला न्यायाधीश प्रमेश पोखरेलको इजलासबाट असार २२ गते ३० हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए ।

जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले ०७९ चैत २२ गते आरोपितहरूलाई २५ दिन कैद र ३ हजार रुपियाँ जरिवाना गर्ने फैसला भएकोमा आरोपितहरू फरार थिए ।

अन्य

भिडियो