INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयमा शुद्ध खानेपानीको अभाव हुँदा विद्यार्थीलाई सास्ती

बाँसगढी नगरपालिका–५ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा सुरक्षित र शुद्ध खानेपानी अभाव हुँदा विद्यार्थीलाई सास्ती भएको छ । विद्यालयमा रहेका ११ सय ९४ जना विद्यार्थीहरू सुरक्षित र शुद्ध खानेपानीको पहुँचबाट वञ्चित हुनुपरेको हो ।

Photp14122024Bardiya

विद्यालयमा विद्यार्थी सङ्ख्या अनुसार खानेपानीको धारा छैन । विद्यालयमा रहेको धारा चापकलबाट आउने पानी समेत शुद्ध छैन । शुद्ध खानेपानीको अभाव हुँदा विद्यार्थीहरूले सास्ती भोग्नु परेको छ । विद्यालयमा रहेको एक मात्र खानेपानीको धारामा विद्यार्थीहरू लाइन लागेर पालो पर्खिनु पर्ने बाध्यता रहेको छ । विद्यालयमा खानेपानीको समस्या भएको जानकारी पाएपछि विद्यालयका पूर्व विद्यार्थीहरूले पनि सहयोग सङ्कलन गरेर शुद्ध खानेपानी ट्याङ्की निर्माणको लागि पहल थालेका छन् ।

श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका पूर्व विद्यार्थी समाजका अध्यक्ष प्रेम चौलागाईले विद्यालयमा शुद्ध खानेपानीको अभाव भएको थाहा पाएपछि शुद्ध खानेपानीको व्यवस्थापन गर्नका लागि पूर्व विद्यार्थीहरूबाट सहयोग सङ्कलन गरी शुद्ध खानेपानीको लागि ट्याङ्की निर्माण गर्न लागिएको बताउनु भयो । उहाँले भन्नुभयो – ‘पूर्व विद्यार्थीहरूबाट खानेपानी निर्माणको स्रोत व्यवस्थापन गरिरहेको छौँ । केही समय पछि खानेपानी निर्माणको आवश्यक संरचना निर्माण गर्ने छौँ ।’

Photp14122024Bardiya.

श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक राजाराम ढकालले विद्यालयका रहेको खानेपानीको धारा पुरानो भएको र विद्यालयका विद्यार्थीले चापकलबाट पानी खाने गरेको बताउनु भयो । उहाँले विद्यालयका शुद्ध खानेपानी समस्या छ भन्ने थाहा पाएपछि पूर्व विद्यार्थीहरूले विद्यालयमा धारा निर्माणको लागि पहल गरेको जानकारी दिनुभयो ।

बाँसगढी नगरपालिका शिक्षा विभागका शिक्षा अधिकृत छत्रबहादुर शाहीले विद्यालयमा विद्यार्थीको सङ्ख्या बढी भएकोले पनि खानेपानीको समस्या रहेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘प्रदेश सरकारले स्थानीय तहमा रहेका विद्यालयको शौचालय निर्माण तथा शैक्षिक गुणस्तर सुधारको लागि १ करोड ५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ । स्थानीय तहले पनि शिक्षाको लागि बजेट व्यवस्थापन गरेको छ । त्यही रकमबाट विद्यालयका खानेपानीको समस्या हल गर्ने गरी काम गर्ने योजना रहेको छ ।’

त्यसैगरी बाँसगढी नगरपालिका–५ का वडा अध्यक्ष दहवा थारुले विद्यालयमा खानेपानीको समस्यमा भए पनि वडाको बजेटले नपुग्ने हुँदा कुनै बजेट विनियोजन गर्न नसकिएको बताउनु भयो । उहाँले भन्नुभयो – ‘कार्यपालिका तथा पालिकाको बजेट निर्माण गर्दा विद्यालयको लागि कुनै बजेट नछुट्टाए पनि आगामी वर्षको बजेटका यसलाई प्राथमिकतामा राख्नेछु । साथै प्रदेश र सङ्घबाट समेत बजेट व्यवस्थापन गर्नका लागि माग गर्नेछु ।’

खानेपानी तथा सरसफाई कार्यालय, बर्दियाको तथ्याङ्क अनुसार बाँसगढी नगरपालिकाका ९२.२४ प्रतिशत नागरिक शुद्ध खानेपानीको पहुँच बाहिर रहेका छन् । श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय जस्तै स्थानीय तहभित्र रहेको अधिकांश विद्यालयहरू समेत शुद्ध खानेपानीको पहुँच बाहिर रहेका छन् ।

Photp14122024Bardiya,,

अन्य

भिडियो