INSEC Online

📅 २०८३ जेष्ठ २१

त्रासमा काम गर्न बाध्य मानव अधिकार रक्षक

पीडित तथा समग्र समाजको हितका लागि जसले काम गर्छ, त्यो मानव अधिकार रक्षक हो । जसले मानव अधिकारको रक्षा गर्दै उल्लङ्घन गर्नेलाई कानुनी दायरासम्म पुर्‍याउने काम गर्छ । सोही कुरालाई मध्यनजर गर्दै कात्तिक २३ गते गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय मानव अधिकार रक्षक दिवसको अवसरमा मानव अधिकार रक्षक र उनीहरुको अधिकार विषयमा अन्तरक्रिया गरियो ।

अन्तरक्रियामा कतिपयले अहिले मानव अधिकार रक्षक भन्नै डर हुने अवस्था सिर्जना भइरहेको सुनाए ।  दलित महिला सङ्घ (फेडो)की इश्वरी बिकले आफूहरुलाई बारम्बार धम्की आउने गरेको सुनाउनु भयो । ‘पोखरा महानगरपालिका-२४ की वडा सदस्य माया नेपालीमाथि जसरी आफ्नै वडाध्यक्षले जातीय विभेद गर्नु भयो । त्यसपछि एउटा सरकारको प्रतिनिधिमाथि भएको घटनालाई फेडोले साथ दियो । त्यसबिचमा हामीलाई यस्तो धम्की आयो । दुई महिना जति निगरानीमा राख्ने काम भयो ।’-उहाँले भन्नु भयो-‘अर्को एउटा पोखरा महानगरपालिका-३३ मा बलात्कारको घटना थियो । त्यो मिलाइदिनुस् भनेर यति फोन धम्की आयो । त्यसको हिसाबकिताब छैन ।’ मानव अधिकार रक्षक बनेर काम गर्दा अहिले पनि धक्की आउने गरेको उहाँले सुनाउनु भयो ।

photo20241209kaski (1)

शान्तिको लागि नागरिक समाजको सञ्जालका पूर्व अध्यक्ष विष्णुप्रसाद बरालले अहिले मानव अधिकार रक्षकको भूमिकासमेत कमजोर हुँदै गएको सुनाउनु भयो । ‘मानव अधिकार रक्षक पनि बायस भएका छन् । अब हामीले समीक्षा गरेर व्यवहारमा पनि परिवर्तन गर्नुपर्छ । नत्र राज्यले रक्षकलाई कसरी सम्बोधन गर्छ ?’-उहाँले भन्नु भयो ।

उच्च अदालत बार एसोसिएसन पोखराका सहसचिव भुवन पराजुलीले अब मानव अधिकार रक्षकसमेत पहिचान हुन आवश्यक रहेको सुनाउनु भयो । ‘मानव अधिकार रक्षकको पहिचना हुन आवश्यक छ । सुरु गण्डकी प्रदेशबाटै होस् । यहाँ जो पनि रक्षक भन्दै हिँड्दा पनि वास्तविक रक्षकहरु माथि अन्यय भएको छ । पहिचना हुने परिचय पत्र बनाउनु पर्छ ।’-उहाँले भन्नु भयो । शक्ति समूह गण्डकी सरिता पौडेलले मानव अधिकार रक्षकका लागि काम गरेर हिँड्दा बच्चालाई समेत जोगाउन अप्ठेरो भएको सुनाउनु भयो ।

मानव अधिकार आयोग गण्डकी प्रदेशकी प्रमुख नितु गर्तौलाले आफूहरुको भूमिका बुझिदिन अनुरोध गर्नु भयो । ‘मानव अधिकार आयोगले रवि लामिछानेमाथि भएको घटना बुझ्न जिल्ला प्रहरी कार्यालय पुगेका थियौँ । बाहिर निस्कँदा जबरजस्ती यो भन भन्ने खालको प्रश्न आए । यस्तै कुरा सोध्दा कसलाई कुन, के सोध्दै छु भन्ने कुरा पनि ख्याल गर्नुपर्छ ।’-उहाँले भन्नु भयो । आयोगको पदमा बसेर काम गर्दा मानव अधिकारको रक्षका लागि आफूले काम गर्ने उहाँ भनाइ छ ।

photo20241209kaski (2)

इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलले पछिल्लो मानव अधिकार उल्लङ्घनका घटना बढिरहेको बताउनु भयो । ‘स्वास्थ्यकर्मीहरु सबैभन्दा बढी पीडित भएका छन् ।  मानव अधिकारकर्मी पनि त्यहाँ परेका छन् । पत्रकार, समाजसेवी र शिक्षक पीडित हुनुले समाजमा अराजकता बढ्दै गएको देखिन्छ ।’-उहाँले भन्नु भयो ।

नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष नारायण शर्माले पत्रकारले सधैँ मानव अधिकारका पक्षमा काम गरिरहेको सुनाउनु भयो । गण्डकी प्रदेश प्रेस रजिष्ट्रार बिमला भण्डारीले पत्रकार मानव अधिकारको पक्षमा काम गर्ने पहिलो व्यक्ति भएको बताउनु भयो ।

गण्डकी प्रदेश मानव अधिकार महाभेलाकी संयोजक विना शिल्वालले अहिले पनि छोराछोरीबिच भेदभाव कायम रहेको हुँदा समाजमा समस्या रहिरहेको बताउनु भयो ।

गैसस महासङ्घ गण्डकी प्रदेश र इन्सेक, शक्ति समूह जागृति बाल तथा युवा सरोकार नेपाल, मानव अधिकार महाभेला गण्डकी, राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालय, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश, एड्भोकेसी फोरम पोखरा र मानव अधिकार एलायन्स पोखराको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

अन्य

भिडियो