शारिरीक अपाङ्गता हुनु भएर हिँडडुल गर्न नसक्ने चार जनालाई जिल्ला प्रशासन कार्यालयले घरमै तथा वडामा पुगेर नेपाली नागरिकता प्रमाणपत्र वितरण गरेको छ ।
साँगुरीगढी गाउँपालिका-२ र ८ का चार जना अपाङ्गता हुनु व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालयको टोलीले वडामा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको हो ।
अपाङ्गता हुनु भएकाहरूलाई नागरिकता बनाउन पटकपटक सदरमुकाम लैजान पहल गरे पनि विफल भएपछि प्रशासनले घरमै नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो ।
साँगुरीगढी गाउँपालिकाको पहलमा प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतसहितको टोली घरमै ०८१ मङ्सिर १६ गते अपाङ्गता भएकाहरूलाई नागरिकता वितरण गरिएको हो ।
नागरिकता पाउनेमा साँगुरीगढी गाउँपालिका-८ का २२ आशिष राई, ४६ वर्षीय राजबहादुर राई, र १८ वर्षीया चाँदनी राईलाई नेपाली नागरिकताको प्रमाणपत्र दिइएको छ । उहाँहरू तीनै जनालाई घरमै पुगेर नागरिकता प्रदान गरिएको हो ।
साँगुरीगढी गाउँपालिका-२ की १८ वर्षीया सुनिता लिम्बूलाई वडा कार्यालयमा पुगेर नागरिकता प्रदान गरिएको हो ।
नागरिकता वितरण टोलीमा धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, प्रशासकीय अधिकृत अङ्कित मङ्ग्राती, सागुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, उपाध्यक्ष मुना राईलगायतको सहभागिता थियो ।
नागरिकता पाउनेहरूमा बोल्न, हिड्न नसक्ने, तथा मानसिक सन्तुलन ठिक नभएका रहेको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताउनु भयो ।
स्थानीय तहको निर्वाचनपछि गाउँगाउँमा विकास धेरै भएको भएपनि जनताका यस्ता समस्याले नागरिकता बनाउन पहल गरेको गाउँपालिका अध्यक्ष जीतेन्द्र राईले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयले यसअघि पनि अपाङ्गता र अशक्त भएका व्यक्तिलाई घरैमा पुगेर नागरिकता वितरण गरेको र अब पनि सो क्रम जारी रहने जनाएको छ ।
कुनै पनि नागरिकले अनागरिक भएर बाँच्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि घरमै र वडा कार्यालयमै पुगेर प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो ।
अफ्ठ्यारोमा परेका नागरिकलाई नेपाल सरकारले दिने सेवा दिने उद्देश्यले शारिरीक अशक्त भएका तथा अपाङ्गता भएका व्यक्तिलाई सहज होस भनेर वडा तथा घरैमा पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो । उहाँले नेपाली नागरिकले कुनैपनि सेवा पाउनबाट वञ्चित हुन नदिने बताउनु भयो ।
नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय ल्याउने प्रयास गरेपनि लैजान नसकेका कारण उहाँहरूले नेपाली नागरिकताको प्रमाणपत्र पाउन सक्नु भएको थिएन ।
नेपालको संविधान,२०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था छ ।
धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित नगरिने उल्लेख छ ।


