धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाल र धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय पत्रकार जनक ऋषि राईलाई धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको धम्कीप्रति पत्रकारहरूले विरोध जनाएका छन् ।

“हर्क साम्पाङ्गको मनमौजी शासन, बेतिथिको दलदलमा धरान” शीर्षकमा खोज पत्रकारिता केन्द्रका लागि ०८१ मङ्सिर १६ गते समाचार प्रकाशन भएपछि मेयर साम्पाङ्गले हर्क साम्पाङ ए रिभुलुसन फेसबुक पेजमार्फत मङ्सिर १९ गते धम्की दिएपछि पत्रकारहरूले त्यसको विरोध गरेका छन् ।
समाचार लेख्ने पत्रकार दाहाललाई मेयर साम्पाङ्ग बेइज्जत गरिदिने र शीर ठाडो पारेर हिड्न दिने छैन भनेर धम्की दिएका छन् । नेपाल पत्रकार महासङ्घ, सुनसरी शाखाका अध्यक्ष जनक ऋषि राईको फुरफुर धेरै भएकाले त्यसलाई पनि ठिक गर्ने धम्की मेयर साम्पाङ्गले आफ्नो फेसबुक पेजबाट दिएका छन् ।
पत्रकारलाई सामाजिक सञ्जालबाट धम्क्याएपछि नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले विज्ञप्ति जारी गरेर घटनाको विरोध जनाएका छन् ।
घटनाका विषयमा लिखित उजुरी नपरेपनि मेयर साम्पाङ्गले धम्की दिएको भनेर पीडित पत्रकारहरूले मौखिक जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका एसपी सुमनकुमार तिम्सिनाले बताउनु भयो ।
मेयरको धम्कीपछि पत्रकार गोपाल दाहालले असुरक्षित महसुस भएको बताउनु भएको छ ।



घटनाको पत्रकारसम्वद्ध संस्थाले विज्ञप्तिमार्फत विरोध जनाएका छन् ।
मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले पत्रकारलाई मानव अधिकार रक्षकका रूपमा परिभाषित गरेको छ ।