कोशी प्रदेशमा स्थानीय तह उपनिर्वाचन ०८१ शान्तिपूर्ण ढङ्गमा सम्पन्न भएको छ ।

कोशी प्रदेशका मोरङको ग्रामथान गाउँपालिकामा गाउँपालिका अध्यक्ष पदका लागि, ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-३ मा वडाध्यक्ष पदका लागि, झापाको कन्काई नगरपालिका-६ मा वडाध्यक्ष पदका लागि, तेहृथुमको लालीगुराँस नगरपालिका-८ मा वडाध्यक्ष पदका लागि, सुनसरीको गढी गाउँपालिका-६ मा वडाध्यक्ष पदका लागि, ओखलढुङ्गाको मोलुङ गाउँपालिका-५ मा वडाध्यक्ष पदका लागि र उदयपुरको त्रियुगा नगरपालिका-१२ र बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि मङ्सिर १६ गते शान्तिपूर्ण ढङ्गमा मतदान सम्पन्न भएको हो ।
इन्सेक कोशी प्रदेशका कार्यालय, विराटनगरले कोशी प्रदेशमा निर्वाचन भएका स्थानीय तहमा निर्वाचन पर्यवेक्षण सम्पन्न गरेको छ ।
इन्सेक कोशी प्रदेश कार्यालयका प्रलेख अधिकृत पुण्य अधिकारी र मोरङ प्रतिनिधि विनोद सुवेदीले ग्रामथान गाउँपालिकमा निर्वाचन पर्यवेक्षण गर्नु भएको छ ।
ग्रामथान गाउँपालिकामा ७१ दशमलव ३३ प्रतिशत मत खसेको छ । २६ हजार ४४ जना मतदाता रहेको गाउँपालिकामा ८ हजार ९ सय ६६ जना पुरूष र ९ हजार ६ सय ११ जना महिला मतदाता गरी १८ हजार ५ सय ७७ जनाले मतदान गरेका छन् । मतदान शान्तिपूर्ण ढङ्गमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी रामराज पौडेलले बताउनु भयो ।
ग्रामथान गाउँपालिकामा १२ ओटा मतदानस्थल र २९ ओटा मतदान केन्द्र कायम गरिएको थियो । विभिन्न दलबाट १५ र स्वतन्त्र एक सहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । मतदान सकिएसँगै मतपेटिका सङ्कलनको काम गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनु भयो । मत पेटिका सङ्कलनपछि सर्वदलीय सहमति जुटेमा आजै रातिबाट मतगणना सुरु गर्ने तयारी गरिएको छ ।
ओखलढुुङ्गा प्रतिनिधि तथा निर्वाचन पर्यवेक्षक सरस्वती बानियाका अनुसार जिल्लाको मोलुङ गाउँपालिका-५ मा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको छ । उपनिर्वाचनमा करिब ५८ प्रतिशत मत खसेको छ । मतदानमा ५७ दशमलव ९६ प्रतिशत मतदाताले मतदान गरेका छन् । कुल १ हजार ३ सय २५ जना मतदातामध्ये ७ सय ६८ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले बताउनु भयो । मतदान केन्द्र ‘क’ मा ३ सय ८८ जना र केन्द्र ‘ख’ मा ३ सय ८० जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत गौतमले बताउनु भयो । ४ सय ७ जना पुरुष र ३ सय ६१ जना महिलाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सर्वदलीय बैठक राखेर आजै साँझबाट मत गणनाको कार्य थालिने मुख्य निर्वाचन अधिकृत गौतमले बताउनु भयो । जिल्ला समन्वय समिति प्रमुखमा भने नेपाली कांग्रेसका टेकराज भट्टराई निर्विरोध चयन हुनु भएको छ । जिसस प्रमुख डिल्लीराम खनाल र मोलुङ गाउँपालिका-५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएकाले उपनिर्वाचन भएको हो ।
ताप्लेजुङ प्रतिनिधि तथा निर्वाचन पर्यवेक्षक एलिना दियालीका अनुसार फुङलिङ नगरपालिका-३ मा वडाध्यक्ष पदका लागि मङ्सिर १६ गते शान्तिपूर्ण ढङ्गमा निर्वाचन सम्पन्न भएको छ । ५३ दशमवल ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीस विकास श्रेष्ठले बताउनु भयो । वैदेशिक रोजगारीमा गएका वडाध्यक्ष दिलप्रसाद बोखिम ०८० कात्तिक २४ गते देखि वडामा अनुपस्थित रहेपछि स्थानीयको दबाबमा हङकङबाटै ०८१ साल असोज १८ गते राजीनामापत्र पठाएकाले सिरिजङ्घा गाउँपालिका–३ मा उपनिर्वाचन भएको हो ।
सुनसरी प्रतिनिधि तथा निर्वाचन पर्यवेक्षक जयकृष्ण यादवका अनुसार गढी गाउँपालिका-६ मा वडाध्यक्ष पदका लागि शान्तिपूर्ण ढङ्गमा मतदान सम्पन्न भएको छ । गढी गाउँपालिका-६ मा ६८ प्रतिशत मतदान भएको छ । गढी गाउँपालिका-६ मा २ हजार ५ सय ४५ जनाले मतदान गरेका छन् । जनता मावि क केन्द्रमा २ सय ७२ जना पुरूष र २ सय ८४ जना महिला गरी ५ सय ५६ जना महिला, जनता मावि ख केन्द्रमा २ सय ६६ जना पुरूष र ३ सय ११ जना महिला गरी ५ सय ७७ जना, जनता मावि ख केन्द्रमा २ सय ४३ जना पुरूष र ३ सय ५१ जना महिला गरी ५ सय ९४ जनाले र राष्ट्रिय आधारभुत विद्यालय क केन्द्रमा १ सय ९३ जना पुरूष र २ सय ११ जना महिला गरि ४ सय ४ जना र राष्ट्रिय आधारभुत विद्यालय ख केन्द्रमा २ सय ३ जना पुरूष र २ सय ११ जना गरी ४ सय १४ जना सहित १ हजार १ सय ७७ जना पुरूष र १ हजार ३ सय ६८ गरेर कुल २ हजार ५ सय ४५ मत झरेको छ । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले मतपेटिका सङ्कलनपछि सर्वदलीय बैठक बसेर आजै मतगणना सुरुआतको तयारी गरिएको बताउनु भयो ।
उदयपुर प्रतिनिधि तथा निर्वाचन पर्यवेक्षक राकेश नेपालीका अनुसार त्रियुगा नगरपालिका-१२ र बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि मङ्सिर १६ गते शान्तिपूर्ण ढङ्गमा मतदान सम्पन्न भएको छ । त्रियुगा नगरपालिका-१२ को जनप्रेमी आधारभूत विद्यालय केन्द्रमा १ हजार १ सय २५ जना पुरूष र १ हजार ४ सय २ जना महिला गरी २ हजार ५ सय २७ जनाले मतदान गर्दा ६५ दशमलव ६८ प्रतिशत मत खसेको छ । बेलका नगरपालिका-९ को वरपिपल कमलवारी मतदान केन्द्रमा ८ सय ८० जना पुरूष र १ हजार ५ जना महिला गरी १ हजार ८ सय ८५ जनाले मतदान गरेका छन् । जुन मतदान केन्द्रमा ६० दशमलव १० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तेहृथुम प्रतिनिधि तथा निर्वाचन पर्यवेक्षक सुरेश खत्रीका अनुसार लालीगुराँस नगरपालिका-८ मा वडाध्यक्ष पदका लागि मङ्सिर १६ गते शान्तिपूर्ण ढङ्गमा मतदान सम्पन्न भएको छ । लालीगुराँस नगरपालिका-८ को रत्न माध्यमिक विद्यालय केन्द्रमा १ हजार ४ सय ८१ जना मतदाता रहेका ६२ दशमलव ३२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रत्न मावि क केन्द्रमा २ सय ३१ जना महिला र २ सय ४३ जना पुरूषले मतदान गरेका छन् । रत्न मावि ख केन्द्रमा २ सय २७ जना महिला र २ सय २२ जना पुरूषले मतदान गरेका छन् ।
झापा प्रतिनिधि तथा निर्वाचन पर्यवेक्षक नरेश खातीका अनुसार कन्काई नगरपालिका-६ मा वडाध्यक्षको उपनिर्वाचन शान्तिपूर्ण ढङ्गमा सम्पन्न भएको छ । वडाध्यक्ष पदका लागि १ हजार ५ सय १३ जनाले मतदान गरेको निर्वाचन अधिकारी तुलसी नेपालले बताउनु भयो । चम्पापुर माविको मतदान केन्द्रमा ८ सय २४ जना महिला र ६ सय ८९ जना पुरूषले मतदान गरेका छन् । कुल ७३ दशमलव ५१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।