स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत आगामी मङ्सिर १६ गते हुने निर्वाचनमा मतदातालाई मत प्रदानका लागि पहुँचयुक्त मतदान केन्द्र निर्माणका लागि निर्वाचन आयोगले निर्देशन जारी गरेको छ ।
गर्भवती महिला, अशक्त, बिरामी, ज्येष्ठ नागरिक, किरियापुत्री, सुत्केरी र अपाङ्गता भएका मतदातालाई सहजतापूर्वक मतदान केन्द्रमा पुगी मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगले स्थानीय तहलाई निर्देशन दिएको हो ।

कोशी प्रदेशको मोरङको ग्रामथान गाउँपालिकामा गाउँपालिका अध्यक्ष पदका लागि, ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-३ मा वडाध्यक्ष पदका लागि, झापाको कन्काई नगरपालिका-६ मा वडाध्यक्ष पदका लागि, तेहृथुमको लालीगुराँस नगरपालिका-८ मा वडाध्यक्ष पदका लागि, सुनसरीको गढी गाउँपालिका-६ मा वडाध्यक्ष पदका लागि, ओखलढुङ्गाको मोलुङ गाउँपालिका-५ मा वडाध्यक्ष पदका लागि र उदयपुरको त्रियुगा नगरपालिका-१२ र बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि आगामी मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचन हुँदैछ ।
मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा अपाङ्गता, अशक्त, विरामी, ज्येष्ठ नागरिकका लागि हरेक मतदान केन्द्रमा छुट्टै लाइनको व्यवस्था गरिने भएको छ ।महिला, पुरूषको लाइन मात्रै नभई लक्षित मतदाताहरूका लागि छुट्टै अर्को लाइनको पनि व्यवस्था गरिने ग्रामथान गाउँपालिका उपनिर्वाचन मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी रामराज पौडेलले बताउनु भयो । लक्षित मतदाताहरूले लाइनमा उभिनु नपर्ने बसेर आफ्नो पालो पखर्ने व्यवस्था मिलाइने सूचना अधिकारी पौडेलले बताउनु भयो । यस्तै किरिया पुत्रिहरूलाई भने पालो नपर्खी सोझै मतदान गर्न पाउने व्यवस्था गरिने भएको छ ।
भड्किला प्रचार सामग्री हटाउन आग्रह
ग्रामथान गाउँपालिकामा आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि सडकमा राखिएका भड्किला प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयले आग्रह गरेको छ । मुख्यनिर्वाचन अधिकृतको कार्यालयले मङ्सिर १२ गते ग्रामथानमा आचारसंहिताबारे आयोजना गरिएको सर्वदलिय बैठकमा मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले आचारसंहिता विपरितका तुल व्यानरहरु हटाउन आग्रह गर्नु भएको हो । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउनका लागि आचारसंहिता पालना गरिदिन मुख्य निर्वाचन अधिकृतले उम्मेदवारसँग आग्रह गर्नु भएको छ । मुख्य निर्वाचन अधिकृत भट्टराईले भन्नुभयो‘ निर्वाचन कार्यालयमा अहिले सम्म कसैको पनि उजुरी परेको छैन । अबका बाँकी दिनहरुमा पनि उजुरी नपर्ने गरिका काम गर्न आग्रह गर्दछु ।’ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि मङ्सिर १६ गते हुने निर्वाचनमा राजनीतिक दलका १५ र एक स्वतन्त्र गरि १६ जना उम्मेदवार छन् ।
ग्रामथानका चार ओटा मतदानस्थल सम्वेदनशील
आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तरगत ग्रामथान गाउँपालिकामा तोकिएकामध्ये चार ओटा मतदानस्थललाई सम्वेदनशील भनेर वर्गिकरण गरिएको छ । ग्रामथान गाउँपालिकामा १२ ओटा मतदानस्थल र २९ वटा मतदान केन्द्र कायम गरिएकामा चार ओटा मतदानस्थलाई जिल्ला सुरक्षा समितिले सम्वेदनशील मतदानस्थलका रूपमा वर्गीकरण गरेको हो । अन्य आठ ओटा मतदानस्थलाई सामान्यको सूचीमा वर्गीकरण गरिएको छ ।
सुरक्षाका दृष्टिकोणले सम्वेदनशील र सामान्य भनेर वर्गीकरण गर्दै मतदानस्थलमा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनु भयो ।
विगतका निर्वाचनमा भएका झगडा, विवाद, मतदाता र मतदान केन्द्रको संख्यालगायतलाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । ग्रामथान गाउँपालिकामा मङ्सिर १६ गते गाउँपालिका अध्यक्ष पदका लागि हुने निर्वाचनमा एकीकृत सुरक्षा योजना बनाएर लागू गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
तीन ओटा वा सो भन्दा मतदान केन्द्र र धेरै मतदाता रहेका मतदानस्थललाई सम्वेदनशीलको सूचीमा राखिएको छ । सुरक्षाका दृष्टिकोणले ग्रामथान गाउँपालिका-१ लखन्तरीस्थित वीरेन्द्र मावि, ग्रामथान गाउँपालिका-५ तेतरियास्थित देवी मावि, ग्रामथान गाउँपालिका-६ रविहाटस्थित पब्लिक मावि र ग्रामथान गाउँपालिका-७ धोवियारेस्थित गणेश मावि मतदानस्थललाई सम्वेदनशील सूचीमा राखिएको छ ।
वीरेन्द्र माविमा तीन ओटा मतदान केन्द्र र २ हजार ५ सय १३ मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । देवी माविमा ५ वटा मतदान केन्द्र र ४ हजार ८ सय ३८ मतदाता, पब्लिक माविमा ४ वटा केन्द्र र ३ हजार ७ सय ५५ मतदाता तथा गणेश माविमा तीन ओटा केन्द्र र २ हजार २ सय ५६ जना मतदाता छन् ।
मतदानस्थलमध्ये ग्रामथान-१ खुनियाकट्टास्थित बेगन आधारभूत विद्यालयमा एक ओटा केन्द्र र ७ सय ७७ मतदाता, ग्रामथान गाउँपालिका-२ वडा कार्यालयमा २ केन्द्र र २ हजार ७२ मतदाता, ग्रामथान गाउँपालिका-२ झोराहाटस्थित सरस्वती माविमा एक केन्द्र र २ हजार ६२ मतदाता, ग्रामथान गाउँपालिका-३ भौसाबारीस्थित राधाकृष्ण आधारभूत विद्यालयमा दुई केन्द्र र १ हजार ४ सय ६ मतदाता तथा ग्रामथान गाउँपालिका-३ सिद्राहास्थित वाणी माविमा दुई ओटा केन्द्र र १ हजार ५ सय ४७ मतदाता छन् ।
ग्रामथान गाउँपालिका-४ को लोहासुरस्थित महेन्द्र माविमा २ केन्द्र र २ हजार ८१ मतदाता, ग्रामथान गाउँपालिका-४ मोतीपुरस्थित लोहन्द्रा आधारभूत विद्यालयमा २ केन्द्र र १ हजार ८ सय ९२ मतदाता तथा ग्रामथान गाउँपालिका-७ को बनिगास्थित सरस्वती आधारभूत विद्यालयमा १ केन्द्र र ८ सय ४५ जना मतदाता रहेका छन् । ग्रामथान गाउँपालिकामा २६ हजार ४४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार आगामी मङ्सिर १६ गते लालीगुराँस नगरपालिका-८ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा प्राथमिकताका आधारमा मतदान प्रदान गर्ने व्यवस्था मिलाइने भएको छ । गर्भवती, बिरामी, किरियापुत्री, सुत्केरीलगायत मतदाताको लागि विश्राम गर्ने ठाउँको व्यवस्था गर्न र गम्भीर प्रकृतिका अशक्त, दीर्घरोगी, ज्येष्ठ नागरिक मतदातालाई सवारी साधनको प्रयोग गरी मतदान केन्द्रसम्म पुर्याउन र फर्किने व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएसँगै लालीगुराँस नगरपालिका-८ मा वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि सोही अनुसारको तयारी थालिएको छ ।
राजनीतिक दल र उम्मेदवारहरुलाई दिएको निर्वाचन प्रचारप्रसार र मत माग्ने कार्य मङ्सिर १३ गते मध्यरातदेखि अन्त्य हुने र निर्वाचन सम्पन्न नहुञ्जेलसम्मका मौन अवधि जारी रहने निर्वाचन आयोगले जनाएको छ ।