एक वर्षीय बालकलाई अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालतले मङ्सिर ११ गते तीन जनालाई कैद र जरिबाना गर्ने फैसला गरेको छ ।
न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले अपहरणमा तथा शरीर बन्धक मुद्दामा बालकका २५ वर्षीय फुपू दिदीलाई चार वर्ष कैद र सङ्गठित अपराध मुद्दामा दुई वर्ष कैद गर्ने तथा ४० हजार रुपियाँ जरिबाना गर्ने फैसला गरिएको छ ।
यसैगरी अपहरणपछि बच्चा लुकाएर राख्ने तनहुँ जिल्ला भिमाद नगरपालिका-७ का ३३ वर्षीया शारदा क्षेत्री बिकलाई अपहरण तथा शरीर बन्धक मुद्दामा मूख्य कसुरदार ठहर गर्दै १० वर्ष कैद र सङ्गठित अपराधमा थप दुई वर्ष कैद गर्न र १ लाख रुपियाँ जरिबाना गर्ने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनु भयो ।
यसैगरी शारदाका २७ वर्षीय पति कमल बिकलाई अपहरण तथा शरीर बन्धक मुद्दामा मतियार ठहर गर्दै ५ वर्ष कैद गर्ने फैसला गरिएको छ ।
कसुरदारहरुले फुपू दिदीको सहयोगमा एक वर्षीय बालकको ०८० माघ २० गते अपहरण गरी काठमाडौँमा लगेर लुकाइ राखेका थिए । पीडित पक्षको उजुरीपछि आरोपितहरुलाई प्रहरीले माघ २३ गते गिरफ्तार गरेको थियो ।
प्रहरीले माघ २१ गते बिहान काठमाडौँ महानगरपालिका रातोपुल फोहार फाल्ने ठाउँबाट पीडित बालकको उद्धार गरी राखेकोमा परिवार पत्ता लगाएर माघ २२ गते परिवारको जिम्मा लगाएको थियो ।
०८० फागुन १५ गते जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा दर्ता भएको अपहरण तथा शरिर बन्धक मुद्दामा जिल्ला अदालतको फागुन १८ गतेको आदेशले आरोपितहरुलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
यसपछि उच्च अदालतले मूख्य आरोपित शारदा, बालककी फुपू दिदीलाई ३०/३० हजार रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । कमललाई भने २० हजार धरौटीमा रिहा गरेको थियो ।
बालककी फुपू दिदीलाई बालकका बाबुले बलात्कार गरेको रिसमा अन्य सहयोगी लिएर फुपूले अपहरण गरेको कसुरदारहरुले घटना भएको समयमा बताएका थिए ।