अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले नागरिकलाई निर्वाचनमा मतदान गर्दिन भन्ने अधिकार पनि रहेकाले शङ्काको भरमा नागरिकलाई अनावश्यक दुःख दिन नहुने बताएका छन् ।

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले मङ्सिर १ गते रोल्पाको लिबाङमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले शङ्काको भरमा धेरैलाई गिरफ्तार गर्दा आक्रोशित भई स्वच्छ र शान्तिपूर्ण निर्वाचनमा असर पुग्ने बताए ।
यस्तै नेपाल मानव अधिकार सङ्गठनका महासचिव महामुनिश्वर आचार्यले देशको आगामी भविष्य निर्माण गर्ने निर्वाचनलाई स्वच्छ बनाउनुपर्नेमा जोड दिए । मानव अधिकार र निर्वाचनको समग्र अवस्थाको अनुगमनका क्रममा रोल्पा आएका उनीहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महत, इन्सेक नेपालगञ्जका प्रलेख अधिकृत नारायण सुवेदी, जिल्लाका राजनीतिक दल, पत्रकार, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागिहरूले जिल्लामा सृङ्खलाबद्ध रूपमा बम विष्फोट भइरहेको र अर्को तर्फनेकपाका नेताहरू गिरफ्तारीमा पर्नुले निर्वाचनमा भाग लिने र नलिने दुवैको अधिकार हनन् भएको बताएका थिए ।