INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक अध्यक्षसहितको टोलीद्वारा रोल्पा प्रहरीको हिरासत कक्ष अनुगमन

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल, नेपाल मानव अधिकार सङ्गठनका महासचिव महामुनिश्वर आचार्य, इन्सेक क्षेत्रीय कार्यालय नेपालगञ्जका संयोजक भोला महत, इन्सेक साधारण सदस्य घनश्याम आचार्य, जिल्ला प्रतिनिधि माधवकुमार ओली लगायतका मानवअधिकारकर्मीहरूको टोलीले मङ्सिर १ गते जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासत कक्षको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा टोलीले गत कात्तिक २२ गते निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा गिरफ्तार भएका नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज दलबहादुर खत्री ‘जागृति’ र सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई पक्राउ पूर्जी दिए/नदिएको, अदालतबाट म्याद थप गरे/नगरेको बारे जानकारी लिएका थियो ।

उनीहरूले स्वतन्त्रतापूर्वक नै निर्वाचनमा सहभागी नहुने भनेकै कारण गिरफ्तारीमा परेको बताएका थिए । स्थानीय निर्वाचनमा पनि आफूहरूले निर्वाचनमा सहभागी नहुन नागरिकहरूलाई अपिल गरेको भएता पनि नागरिकहरू स्वतःस्फूर्त रूपमा सहभागी भएको बताउँदै सेक्रेटरी सुवेदीले अहिले पनि आफूहरूले कुनै डर क्रास नदिएको जानकारी दिए । साथै उनले जिल्लामा आफूहरूको नाममा तेस्रो समूहले बम विष्फोटका घटनाहरू गराएको आरोप लगाए ।

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले रोल्पाका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईसँग भेट गरी यदि उनीहरू सुरक्षाकर्मीकै सम्पर्कमा रहने र बम विष्फोटका घटनामा आफ्नो पार्टीको संलग्नता नभएको विज्ञप्ति जारी गर्न तयार भएमा रिहाई गर्न सुझाव दिएका थिए । यस्तै अध्यक्ष प्याकुरेलले जिल्लाको समग्र निर्वाचनको बारेमा समेत प्रजिअ भट्टराईसँग बुझेका थिए ।

अन्य

भिडियो