INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्लाका बालबालिकामा कुपोषण समस्या बढ्दै !

जिल्लाका बालबालिकामा कुपोषण समस्या बढ्दै गएको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार बर्दियामा आर्थिक वर्ष २०८१/८२ को साउनसम्ममा ३६ जना बालबालिकामा कुपोषण देखिएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा २ सय ७८ जनाम कुपोषण देखिएको छ भने आर्थिक वर्ष २०७९/८० मा २ सय ८६ जनामा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा कुपोषण देखा परेको स्वास्थ्य कार्यालय, बर्दियाका अधिकृत एवम् सूचना अधिकारी पदमा कुमारी श्रेष्ठले बताउनु भयो ।

उहाँले बर्दियामा जन्मँदा कम तौल भएर जन्मने बच्चाको दर १३.७० प्रतिशत रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘बालबालिकाको चेकजाँच गर्दा कुपोषण देखिएका कुपोषित बालबालिकालाई ४२ दिनसम्म उपचारमा राखि औषधि खुवाउने गरिन्छ । २०८०/८१ मा २ सय ७८ जनाम कुपोषित बालबालिका मध्ये २ सय ४१ जनाको उपचारपछि निको भएको थियो भने १५ जना बालबालिका थप उपचारको लागि अस्पताल पठाइएको थियो ।’

बालबालिका कुपोषण हुनुको कारण आहारविहारको कमी, खानपिनका पहुँचको कमी, पोषिलो खानाको मात्रा मिलाएर खान नजान्नु, आमाले समयमा स्यहार नगर्नु, आमाको अल्छीपना, अशिक्षा, अज्ञानता गरिबीले कुपोषण हुने गरेको अधिकृत श्रेष्ठले बताउनु भयो ।

बालरोग विशेषज्ञ डा. विश्वनाथकुमार शाहले कुपोषणका कारण रोग प्रतिरोधात्मक क्षमता कम हुँदा बालबालिका बढी बिरामी हुने, छालाको रोग लाग्ने, आँखाको समस्या हुने, रक्तअल्पता हुने जस्ता समस्या हुने उल्लेख गर्नुभयो । दीर्घकालीन रूपमा कुपोषण गर्दा बृद्धिमा विकासमा असर पर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – ‘सानो उमेरमा कुपोषण देखिएको बालबालिकामा पछि गएर प्रेसर, सुगर, क्यान्सर जस्ता रोग देखिने सम्भवना बढी हुन्छ । त्यसकारण बालबालिकालाई खोप लगाउन जाँदा बच्चाको अवस्था कस्तो छ, भनेर चेकजाँच गरी बच्चाको अवस्था बुझ्न जरुरी रहेको छ ।’

कुपोषणको कारण बालबालिकाको वृद्धि र विकासमा नकारात्मक असर पुग्ने गरेको छ । उहाँले भन्नुभयो – ‘कुपोषण रोकथाम गर्नका लागि महिला स्वंयसेविकाको सहयोग बालबालिका कुपोषित छन् वा छैनन् जाँच गर्ने, पोषिलो खानेकुराको बारेमा जानकारी गराउने, भिटामिन र जुगाको औषधि खुलाउँदा बच्चाको अवस्था बुझेर स्वास्थ्य संस्था पठाउने काम गरिएको छ ।’

जन्मदै कुपोषित भएर जन्मने, कम तौलको आमाबाट जन्मने, रोगी आमाबाट जन्मने, उमेर नपुगेर जन्मने, गर्भवती अवस्थामा पोषिलो खानेकुराको अभावले गर्दा पनि बालबालिका कुपोषण देखा पर्ने स्वास्थ्य कार्यालय बर्दिया वरिष्ठ जनस्वास्थ्य अधिकृत सुनिता पौडेलले बताउनु भयो । उहाँले बच्चालाई पोषिलो खानेकुराको मात्रा मिलाएर खाना नखुवाउँदा, वा पोषिलो खानाको अभावले, पतुर खानाले पनि बालबालिका कुपोषण हुने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘कतिपय परिवारमा परिवारमा रहेको धार्मिक, सांस्कृतिक, सामाजिक, परम्परागत, संस्कारको कारण खानपिन रेखदेखको कारण पनि बालबालिका कुपोषण हुने गरेको पाइन्छ । कतिपय बुवाआमाले ध्रुमपान, मध्यपान सेवन गरेको कारण पनि बालबालिकामा कुपोषण देखा पर्छ ।’

नेपालको संविधानको धारा ३६ मा खाद्य सम्बन्धी हकको व्यवस्था रहेको छ । धारा ३६ को उपधारा (१) प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हक हुनेछ । त्यसैगरी उपधारा ( २) मा प्रत्येक नागरिकलाई खाद्यबस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुनेछ । उपधारा (३) प्रत्येक नागरिकलाई कानुन बमोजिमको खाद्य सम्प्रभुताको हक हुनेछ । धारा ३९ को उपधारा (२) मा प्रत्येक बालबालिकालाई परिवार तथा तथा राज्यबाट शिक्षा, स्वास्थ्य पालन पोषण उचित स्याहार सुसार खेलकुद मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने उल्लेख भए पनि बर्दियाका बालबालिकामा कुपोषण बढ्दै जाँदा समस्या भएको छ ।

अन्य

भिडियो