अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले चुनावबाट निर्वाचित सांसदलाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिएका छन् ।
सप्तरीको रायपुर गाविसमा भदौ ७ गते इन्सेकको साझेदार संस्था दलित सेवा समाजद्वारा आयोजित समुदायका नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्याकुरेलले उक्त कुरामा जोड दिएका हुन् ।

उनले भने-‘जबसम्म राज्य मेरो हो भनेर दावी गर्दैनौ, तबसम्म राज्य हामी नजिक आउँदैन । हामी हरेक सेवा, सुविधा र अधिकारबाट वञ्चित भइरहन्छौं । त्यसैले राज्यमा दावी गर्नुपर्छ ।’
अध्यक्ष प्याकुरेलले भने-‘जनताको भोट लिएर जो सांसद गएका छन् । उनीहरू जिम्मेवार बन्नुपर्छ । र, हामीले जिम्मेवार बनाउनु पनि पर्छ ।’ उनले चुनाव जितेर गएका व्यक्तिले केही गर्न नसकेमा अर्को चुनावमा मतद्वारा गतिलो जवाफ दिन नागरिक शसक्त हुनुपर्नेमा जोड दिए ।
अव बन्ने गाउँपालिका पूर्ण अधिकार सम्पन्न हुने भएता पनि केही राजनीतिक पार्टीले केन्द्र प्रदेशको मातहतमा गाउँ पालिका रहनुपर्छ भनेर जनताको अधिकारलाई कुण्ठित पार्न खोजिएको भन्दै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले सजगता अपनाउन उपस्थित नागरिकलाई आग्रह गरे ।
यस आर्थिक वर्षमा मधेसको विकासका लागि मात्रै ३२ अर्व रुपियाँ विनियोजित गरेकोमा सरकारलाई धन्यवाद दिँदै उनले उक्त रकमले मधेसको मुहार फेर्न सकिने बताए ।
संविधानले कतै विभेद नगरेको भए पनि स्थानीय तहमा दलित, महिला र उपेक्षित समुदायमाथि अझै पनि विभेद रहेकोमा सामाजिक अभियान चलाउनुपर्नेमा उनले जोड दिए ।