INSEC Online

📅 २०८३ जेष्ठ २१

हरुवा-चरवा अधिकार मञ्चद्वारा इन्सेक र मानव अधिकार आयोगलाई ध्यानाकर्षण

मुक्त हरुवा चरवाको तथ्याङ्क सङ्कलन, प्रमाणिकरण र परिचय पत्र वितरण सम्बन्धी कार्यविधि पारित गराउन पहल गरिदिनुहुन हरुवा चरवा अधिकार मञ्चले ०८१ मङ्सिर ४ गते इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण गराएको छ ।

मधेस प्रदेशको आठ ओटा जिल्लाहरू (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौटहट, बारा र पर्सा) मा गठन भएका जिल्ला हरुवा चरवा अधिकार मञ्चको अगुवाईमा ०८१ मङ्सिर ४ गते इन्सेक र राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयलाई ध्यानाकर्षण गराएको हरुवा चरवा अधिकार मञ्चका राष्ट्रिय महासचिव लागेन्द्र सदाले बताउनु भयो ।

मधेस प्रदेशको आठ ओटा जिल्लाहरूको ४२ ओटा पालिकाहरूमा मुक्त हरुवा चरवा अधिकार मञ्चको स्थानीय स्तरका आफ्नै जनसंगठनहरू निर्माण भई कार्यक्रमहरू सञ्चालन भइरहेको सन्दर्भमा गत आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटमा मुक्त हरुवा चरवाको तथ्याङ्क सङ्कलन गर्ने विषय प्रदेश सभाबाट पारित भएकोले मुक्त हरुवा चरवाको लगत सङ्कलनको कार्य तत्काल सुरु गर्न माग गरिएको थियो ।

मधेस प्रदेश सरकार भूमि व्यवस्था, कृषि र सहकारी मन्त्रालयको पहलमा तयार भएको मुक्त हरुवा चरवाको तथ्याङ्क सङ्कलन, प्रमाणीकरण र परिचयपत्र वितरण सम्बन्धी कार्यविधिलाई कार्यान्वयन गरी हरुवा चरवाको लगत सङ्कलन, प्रमाणीकरण र परिचयपत्र वितरण गर्नुपर्ने कुरामा जोड दिनुहुँदै हरुवा चरवाको अधिकारमुखी अभियानलाई सरकारले वास्ता नगरेको कारण सोको लागि पहल गरिदिनुहुन ध्यानाकर्षण गरएको मञ्चका कोषाध्यक्ष राजवति देवि मण्डलले बताउनु भयो ।

Photo 20241119 Mahottari (2)

मुक्त हलिया, कमैया–कम्लहरी तथा हरुवा चरवाको वस्तुस्थिति अध्ययन समितिले नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पेश गरेको सिफारिससहितको प्रतिवेदन तत्काल कार्यान्वयन गरिनुपर्ने, नेपालको संविधानको धारा ५१ ञ (६) मा मुक्त हरुवा चरवा, भूमिहीन, सुकुम्बासी पहिचान गरी बसोबासका लागि घरघडेरी तथा जिवीकोपार्जनका लागि कृषियोग्य जमिनसहित पुनर्स्थापना गर्ने र नेपालको संविधानको धारा १८, २४, ४० को मान्यता अनुसार अक्षरश: कार्यान्वयन गरिनुपर्ने र मुक्त हरुवा चरवा बसोबास गर्दै आएको स्थानबाट बैकल्पिक पुनर्स्थापना कार्यक्रम विना विस्थापित गर्ने कार्य तत्काल रोक्न सम्बन्धित निकायलाई कडा निर्देशन जारी गरिनुपर्ने सवालहरू माग गरिएको छ ।

नेपाल सरकारले २०७९ साउन २ गते भूमि व्यवस्था मन्त्रालयको सिफारिशको आधारमा हरुवा चरवाको ऋणको खारेजीसहित मुक्तिको घोषणा भएको दुई वर्षभन्दा पनि बढी बितिसक्दा पनि पुनर्स्थापनाका कामहरू अपेक्षाकृत अगाडि बढ्न नसकेको र मधेस प्रदेश सरकार भूमि व्यवस्था, कृषि र सहकारी मन्त्रालयको पहलमा तयार भएको मुक्त हरुवा चरवाको तथ्याङ्क सङ्कलन, प्रमाणीकरण र परिचयपत्र वितरण सम्बन्धी कार्यविधि हालसम्म पनि पारित हुन नसक्दा मुक्त हरुवा चरवाको न्यायिक पुनर्स्थापनामा गम्भीर समस्या श्रृजना भएको कुरा मुक्त हरुवा चरवा अधिकार मञ्चका राष्ट्रिय अध्यक्ष दशनलाल मण्डलले बताउनु भयो ।

अन्य

भिडियो