
निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन ०८१ का लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय कात्तिक ३० गते स्थापना गरेको छ ।
इन्सेक धनुषा जिल्ला प्रतिनिधि सन्तोषकुमार यादवका अनुसार धनुषाधाम नगरपालिका वडा नं १ का वडाध्यक्ष पदको लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनको कार्य सम्पादन गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
उक्त कार्यसम्पादनका लागि मुख्य निर्वाचन अधिकृतमा धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामन खड्का र निर्वाचन अधिकृतमा लुम्बनाथ पोखरेल रहनु भएको छ ।
धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल, जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारी, सशस्त्र प्रहरी बल धनुषाका एसपी दर्शन गिरी, धनुषाधाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव दासको उपस्थितिमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय धनुषाधाम नगरपालिका वडा नं १ को वडा कार्यालयमा स्थापना भएको हो ।
मुख्य निर्वाचन अधिकृत खड्काले उपनिर्वाचन निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण तयारी अगाडि बढाएको बताउनु भयो ।


इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि ममता विश्वकर्माका अनुसार रामगोपालपुर नगरपालिका वडा नं २ को वडाध्यक्ष पदको लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनको कार्य सम्पादनका लागि कात्तिक ३० गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
उक्त कार्यका लागि मुख्य निर्वाचन अधिकृतमा महोत्तरी जिल्ला न्यायाधीश राजकुमार कोइराला तोकिनु भएको छ ।
उपनिर्वाचनको कार्यलाई स्वच्छ, मर्यादित र शान्त बनाउन निर्वाचन आचारसंहिताको पालना, राजनीतिक दल र उम्मेदवारले गर्ने चुनावी प्रचारका कार्यक्रम समन्वयात्मक रूपमा सञ्चालन गर्ने, शान्ति-सुरक्षा सवालका सबै क्षेत्रलाई दुरुस्ता बनाइने मुख्य निर्वाचन अधिकृत कोइरालाले बताउनु भयो ।
रौतहट जिल्ला प्रतिनिध गौरी न्यौपानेका अनुसार रौतहटको राजपुर नगरपालिका-६, गढिमाई नगरपालिका-८ र इशनाथ नगरपालिका-७ मा रिक्त रहेको वडाध्यक्ष पदको लागि स्थानी तह उपनिर्वाचन ०८१ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय कात्तिक ३० गते स्थापना गरिएको छ ।
राजपुर नगरपालिका-६ मा मुख्य निर्वाचन अधिकृत रौतहट जिल्ला अदालतका श्रेस्तेदार उद्धब ढोडारी, इशनाथ नगरपालिका-७ मा जिल्ला न्यायाधीश मनोज केसी र गढिमाई नगरपालिका-८ मा जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख मोहमद मुन्नाले औपचारिक कार्याक्रम गरी कार्यालय स्थापना गरेको न्यौपानेले जानकारी गराउनु भयो ।


