एक बालिका र दुई जना महिलाको हत्या घटना भएको ८ वर्ष बिते पनि पीडित परिवारले न्याय नपाएको गुनासो गरेका छन् । जिल्लामा रहस्यमय तरिकाले हत्या भएका १७ वर्षीया बालिका तथा ५७ र ३७ वर्षीया महिलाको परिवारले ८ वर्ष बित्दा समेत न्याय नपाएको गुनासो गरेका हुन् ।
खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया बालिका रीता तामाङको हत्या गरिएको अवस्थामा ०७३ माघ २६ गते खोटेहाङ गाउँपालिका–९ स्थित कुशेऔँसी भनिने जङ्गलको भिरमा शव भेटिएको थियो ।
यस्तै हलेसी तुवाचुङ नगरपालिका–७ महादेव स्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्माको ०७४ जेठ १६ गते स्याउला काटेर घर फर्किरहेको अवस्थामा महादेव स्वास्थ्य चौकी नजिक शव फेला परेको थियो ।
जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्माको जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्ख शिवालयबाट घर फर्किरहेको अवस्थामा ०७४ साउन ४ गते अर्धनग्न अवस्थामा शव फेला परेको थियो ।
घटनामा संलग्नहरूको पहिचान हुन नसक्दा पीडित परिवारलाई ८ वर्षसम्म न्याय दिलाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत सागर शाहले बताउनु भयो ।
१७ वर्षीया बालिका रीता तामाङ सिम्मपानी बजारमा रहेको एक होटलमा काम गर्थिन् । रीताका बुबा ५६ वर्षीय वीरबहादुर तामाङले छोरीका हत्यारालाई कारबाही गर्न माग गर्दै ०७३ फागुन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । उजुरी दिएको ८ वर्ष पुग्न लागे पनि प्रहरीले घटनामा संलग्नहरूको पहिचान गरी गिरफ्तार नगर्दा आफूहरूले न्याय नपाएको वीरबहादुरले गुनासो गर्नुभएको छ । शवको पोष्टमार्टम ०७३ माघ २७ गते जिल्ला अस्पतालमा गरी सोही दिन शव बुझेर दाह संस्कार गरिएको वीरबहादुरले बताउनु भयो ।
हत्या गरिएको अवस्थामा आमाको शव फेला परेपछि आफूहरूले ०७४ जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि हालसम्म आरोपितलाई प्रहरीले गिरफ्तार गर्न नसकेको ज्ञानीमाया विश्वकर्माको छोरा २५ वर्षीय खेमराज विश्वकर्माले बताउनु भयो । शवको पोष्टमार्टम जिल्ला अस्पतालमा ०७४ जेठ १७ गते गरी सोही दिन दाह संस्कार गरेको खेमराजले बताउनु भयो । आमाको हत्या भएको विषयमा ०७७ चैत महिनामा जिल्ला प्रहरी कार्यालयमा गएर अवस्था बुझ्दा दोषीको पहिचान हुन नसकेकाले कानुनी कारबाही अघि बढाउन नसकेको भनी प्रहरीले जवाफ दिएको खेमराजले बताउनु भयो ।
देवी विश्वकर्माका परिवारले दोषीलाई कारबाही गर्न माग गर्दै ०७४ साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको तर हालसम्म दोषी पहिचान गरी प्रहरीले गिरफ्तार गर्न नसकेको बताएका छन् । शवको पोष्टमार्टम जिल्ला अस्पतालमा साउन ६ गते गरी सोही दिन दाह संस्कार गरिएको थियो ।
हत्या घटनाका आरोपितहरूलाई पहिचान गरेर कारबाही हुन नसक्दा पीडित परिवार न्यायबाट वञ्चित हुनु परेको गुनासो सार्वजनिक कार्यक्रममा निरन्तर उठिरहेको छ । तत्कालीन अवस्थामा घटनास्थलमा मडारिएको र सङ्घर्ष गरेको देखिएको भनी प्रहरीले मुचुल्का उठाए पनि अनुसन्धानलाई फराकिलो ढङ्गले अघि बढाउन नसक्दा पीडित परिवार न्यायबाट वञ्चित हुनु पर्ने अवस्था रहेको मानव अधिकारकर्मीहरूको भनाई छ ।
जिल्लामा भएका तीन ओटै घटना शङ्कास्पद भए पनि घटनामा संलग्नहरूको पहिचान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन ढिला हुँदा पीडित परिवारले न्याय पाउने अधिकारबाट वञ्चित हुनु पर्ने अवस्था देखिएको राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङका प्रमुख एवम् उप सचिव गिता दाहालले बताउनु भयो । उहाँले घटना शङ्कास्पद भएको र महिला भएकै कारण हत्या भएकाले अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरीलाई आयोगका तर्फबाट पत्र लेखिएको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत सन्जु कार्कीले घटनाका सम्बन्धमा हाल के भइरहेको छ भन्ने बताउन नमिले पनि प्रहरीले अनुसन्धानलाई अघि बढाई रहेको बताउनु भयो ।
यस अघिका डिएसपी विद्यानन्द माझी, नविनकिशोर प्रधान, लोकदर्शन थापा, राजकुमार केसी, वामदेव गौतम, नारायणप्रसाद चिमरिया, पुरुषोतम खड्का समेतले घटनाको अनुसन्धान भइरहेको बताउने गरेका थिए । तर आफ्नो कार्यकालमा अनुसन्धानको अवस्था सार्वजनिक गर्न सकेनन् ।
जिल्लामा आउने प्रमुख जिल्ला अधिकारी र डिएसपीले घटनामा संलग्नहरूको पहिचान गरी पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गर्दै आए पनि पीडित परिवारले अझैसम्म न्याय नपाएको नेपाल पत्रकार महासंघ खोटाङका पूर्व अध्यक्ष दमन राईले बताउनु भयो । उहाँले पीडित परिवारले न्याय पाउने विषयमा इन्सेकलगायत मानव अधिकारकर्मी र पत्रकारहरूले आवाज बुलन्द गर्न आवश्यक रहेको बताउनु भयो ।
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–२२ भैँसीपाटी बस्ने