INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्प पीडितको एकीकृत बस्ती अधुरै

२०७२ वैशााख १२ को भूकम्पले भिमसेन थापा गाउँपालिका–५ को रठ्ठेपानी, धरमपानी, पाण्डे गाउँ र नयाँ गाउँका अधिका‌ँश घर भत्कियो । भूकम्पपछि धाँजा फाटेर बस्ती जोखिममा पर्यो ।

पुरानो बस्तीको भौगर्विक अध्ययनपछि बस्न अयोग्य रहेको निष्कर्ष निकालेपछि स्थानीयहरू एकीकृत बस्ती पुनर्निर्माणमा खटिए । पुरानो गाउँ नजिकै लामाचौरमा १ सय ५ रोपनी जग्गा एकीकृत गरी २०७३ सालबाट बस्ती पुनर्निर्माण सुरु गरे । तर, बस्ती निर्माण सुरु भएको नौ वर्षसम्म पूर्णता पाउन सकेको छैन ।

१ सय ३८ मध्ये ९३ घर निर्माण सम्पन्न भएको भिमसेन थापा गाउँपालिका–५ का पूर्व वडाध्यक्ष प्रेमचन्द्र श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार ३५ घरको आधाआधि काम सम्पन्न भएको छ । पाँच घर निर्माण सुरु भएको छैन ।

‘चितवन, काठमाडौँ रहनु भएकाहरूको घर बनेको छैन ।’–उहाँले भन्नु भयो–‘यहीँ बस्नेहरू त फिनिसिङ नहुँदैको घरमा सरेर अहिले फिनिसिङको काम पनि सक्नुभएको छ ।’ एकीकृत बस्तीमा घर निर्माण सम्पन्न भएसँगै ६१ घर धुरी स्थायी रूपमै बसोबास गर्दै आएका छन् ।

२०७२ वैशाख १२ गतेको भूकम्पपछि त्रिपाल र अस्थायी टहरोमा बस्दाको अत्यासले बन्दा बन्दैको घरमा चार वर्ष अघि नै सरेर अहिले फिनिसिङको काम पनि सकेको स्थानीय वुद्धिमाया श्रेष्ठले बताउनुभयो ।

वस्ती निर्माणको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ । भूकम्प पीडितको अनुदान बापत आउने ३ लाख रुपियाँ र थप १ लाख ५० हजार रुपियाँ सम्बन्धित धनीबाट सङ्कलन गरी बस्तीका घर निर्माण गरिएको हो ।

एकीकृत मिलन बस्ती पुनर्निर्माण तथा विकास समिति निर्माण गरी बस्ती निर्माण गरिएको हो । स्थानीयकै सक्रियतामा बनेको बस्ती निर्माणमा आर्थिक अभाव पनि देखिएको समितिका अध्यक्ष सुकुमार श्रेष्ठले बताउनु भयो ।

‘अनुदानको ३ लाख रुपियाँ र १ लाख ५० हजार सम्बन्धित धनीको गरी ४ लाख ५० हजार रुपियाँबाट छाना छाउने सम्मको काम गरेका छौँ । अनुदानको ३ लाख रुपियाँ लिन समय सिमा तोकेपछि केही रकम ऋण पनि गर्नुपर्‍यो । यसो हुँदा बस्ती निर्माणमा आर्थिक अभाव पनि खड्किएको छ ।’–उहाँले भन्नु भयो ।

आगामी चैतसम्म बस्ती निर्माणलाई पूर्णता दिने र आयव्यय विवरण पनि सार्वजनिक गर्ने उहाँको भनाइ छ । बस्तीको विपन्न ३० घर धुरी भने एक गैरसरकारी संस्थाले निर्माण गरेको थियो ।

अन्य

भिडियो