INSEC Online

📅 २०८३ जेष्ठ २१

सुदूरपश्चिम प्रदेशका ६ स्थानीय तहमा उपनिर्वाचनको तयारी हुँदै !

सुदूरपश्चिम प्रदेशका ६ ओटा जिल्लाका ६ ओटा स्थानीय तह मध्ये चार ओटा स्थानीय तहमा वडा अध्यक्ष, एक स्थानीय तहमा जिल्ला समन्वय समिति प्रमुख र एक स्थानीय तहमा गाउँपालिका उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुन गइरहेको छ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष, कैलाली जिल्लामा जिल्ला समन्वय समिति प्रमुख, बझाङ जिल्ला सुर्मा गाउँपालिका वडा नम्बर ४ मा वडा अध्यक्ष, डोटी जिल्ला पुर्विचौकी गाउँपालिका वडा नम्बर ६ मा वडा अध्यक्ष, दार्र्चुला जिल्ला दुहुँ गाउँपालिका वडा नम्बर ५ मा वडा अध्यक्ष र कञ्चनपुर जिल्ला  भीमदत्त नगरपालिका वडा नम्बर ६ मा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुने भएको हो । २०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात सुदूरपश्चिम प्रदेशमा पनि  विभिन्न कारणले स्थानीय तहमा रिक्त ६ पदका लागि ०८१ मङ्सिर १६ गते उपनिर्वाचनको मिति घोषण गरी निर्वाचन कार्यालयले कार्यतालिका समेत सार्वजनिक गरेको छ । उपनिर्वाचनको तयारीका सन्दर्भमा जिल्लामा भइरहेका गतिविधिका बारेमा इन्सेक प्रतिनिधिहरुले अनुगमन गरी सूचना पठाउनु भएको छ ।

इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार दुहुँ गाउँपालिका वडा नम्ब्र ५ को वडाध्यक्षका लागि उपनिर्वाचन हुने भएपछि जिल्लामा राजनीतिक दल उम्मेदवार छनोटमा व्यस्त भएका छन् । ०८१ मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि उम्मेदवार छनोट सुरु भएको हो । ०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा दुहुँ गाउँपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रका मनोरथ भट्टले ५ सय ८२ मत पाएर विजयी हुनुभएको थियो ।उहाँका प्रतिस्पर्धी एमालेका मानसिह बडालले ३ सय २ मत प्राप्त गर्नुभएको थियो । तर,  वडाध्यक्ष भट्टको निधनपछि अहिले उपनिर्वाचन हुन लागेको हो । जिल्ला निर्वाचन कार्यालय, दार्चुलाले निर्वाचनको लागि आवश्यक तयारी भइरहेको जनाएको छ । जिल्ला निर्वाचन अधिकारी प्रदीपसिह धामीले कार्यालयको तर्फबाट गर्ने कामहरु निरन्तर भइरहेको बताउनु भयो । दुहुँ गाउँपालिका वडा नम्बर ५ मा यसपटक दुर्गास्थान आधारभूत विद्यालयमा मतदान स्थल तोकिएको र क र ख मतदान केन्द्र बनाइएको निर्वाचन अधिकारी धामीले बताउनु भयो । वडा नम्बर ५ मा १ हजार २ सय बढि मतदाता रहेका छन् । उप निर्वाचनका लागि कात्तिक २६ गते निर्वाचन अधिकृत नियुक्त गरिएको छ । कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर निर्वाचनका गतिविधि अघि बढ्ने उहाँले बताउनु भयो । ०७९ सालमा भएको निर्वाचनमा दुहुँ गाउँपालिकामा नेकपा एमालेले गाउँपालिका अध्यक्ष सहित बहुमत सदस्य जितेको थियो । अहिले वडा तहबाट आएका नामावलीमाथि पार्टीमा छलफल भइरहेको नेकपा एमालेका पार्टी सचिव उमेशराज जोशीले बताउनु भयो । उहाँले भन्नुभयो, जो आए पनि सर्वसम्मत रुपमा उम्मेदवार उठाउछौँ । नेपाली काग्रेसका जिल्ला समिति सचिव पुलेन्द्रबहादुर कार्कीले पार्टीले वडा समितिबाट प्राप्त भएका नामहरुमाथि पार्टीको संसदीय समितिमा छलफल भइरहेको बताउनु भयो ।

इन्सेक बझाङ प्रतिनिधि सत्यराज सिंहका अनुसार सुर्मा गाउँपालिका वडा नम्बर ४ मा वडाध्यक्ष पदका लागि ०८१ मङ्सिर १६ गते उपनिर्वाचन हुने भएको छ । सुर्मा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष सर्जनबहादुर बोहराको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन कार्यालय, बझाङका अनुसार ०७९ सालको निर्वाचनको आधारमा उपनिर्वाचन हुने र सुर्मा गाउँपालिका वडा नम्बर ४ मा एक मतदान केन्द्र र दुई मतदान स्थल रहने छन् । सुर्मा माध्यामिक विध्यालय मतदान केन्द्रमा एउटा मात्र मतदान केन्द्र रहेको छ । तत्कालीन अवस्थामा सुर्य चिन्हबाट नेकपा एमालेका सर्जनबहादुर बोहराले ६ सय २९ मत प्राप्त गरेर बिजयी हुनुभएको थियो । बोहराका प्रतिस्पर्धी रुख चिन्हबाट नेपाली काँग्रेसका लोकबहादुर बोहराले ६ सय ४ मत प्राप्त गर्नुभएको थियो । मतदाताको कार्तिक २६ गते अन्तिम नामवली प्रकाशनको तयारी भइरहेको निर्वाचन कार्यालय, बझाङका कम्प्युटर अप्रेटर गोरखराज जोशीले बताउनु भयो । उपनिर्वाचनका लागि सुर्मा गाउँपालिका वडा नम्बर ४ को वडाकार्यालयमा निर्वाचन अधिकृतको कार्यालय तोकिएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको उम्मेदवारका लागि खर्चको हद समेत निर्धारण गरेको छ । जसमा वडाध्यक्षको पदका उम्मेदवारले १ लाख ५० हजार रुपियाँ मात्रै खर्च गर्न पाउने भएका छन् । उपनिर्वाचनका लागि २५ ओटा दल निर्वाचन आयोगमा दर्ता भइसकेका छन् ।

इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार स्वामीकार्तिक खापर गाउँपालिकामा ०८१ मङ्सिर १६ गते रिक्त उपाध्यक्ष पदको उपनिर्वाचन हुने भएको छ । ०७९ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित उपध्यक्ष मैना जोशीको मृत्यु भएपछि स्वामीकार्तिक खापर गाउँपालिकामा उपनिर्वाचन हुन लागेको हो । स्वामीकार्तिक खपर गाउँपालिकामा हुने उपनिर्वाचनको लागि पाँच ओटा मदतान स्थलमा नौ ओटा मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालय, बाजुराका जिल्ला निर्वाचन अधिकारी अंगत महत्तले जानकारी दिनु भयो । ०७९ सालको स्थानीय निर्वाचनमा रुख चिन्ह्का उम्मेदार नेपाली कांग्रेसबाट मैना जोशीले  १ हजार ८ सय १० मत प्राप्त गरी बिजयी हुनुभएको थियो । उनका प्रतिस्पर्धी सूर्य चिन्ह्बाट नेकपा एमालेकी सुलोचना बुढाले  १ हजार ६ सय ३७ मत  प्राप्त गर्नुभएको थियो । मतदाताको अन्तिम नामवली कात्तिक २६ गते प्रकाशन गरिएको छ । जसमा वडा नम्वर १ मा १ हजार ७ सय २६, वडा नम्वर २ मा १ हजार ३ सय ३८, वडा नम्वर ३ मा २ हजार ७३ जना रहेका छन । यसैगरी वडा नम्वर ४ मा १ हजार ४ सय १५, वडा नम्वर ५ मा ९ सय ८ जना गरी जम्मा ७ हजार ४ सय ६० जना  मतदाता रहेको निर्वाचन कार्यालय, बाजुराका जिल्ला निर्वाचन अधिकारी अंगत महत्तले जानकारी दिनुभएको छ । स्वामीकार्तिक खापर गाउँपालिकाको रिक्त उपाध्यक्ष पदको उपनिर्वाचनको लागि बाजुरा जिल्ला अदालतका न्यायाधिश संजिव पोखरेललाई निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन अधिकृतको कार्यालय कात्तिक ३० गते स्थापना गर्ने तयारी रहेको जिल्ला निर्वाचन अधिकारी महत्तले जानकारी दिनु भयो । स्थानीय उपनिर्वाचन २०८१ मा उम्मेदवारका लागि खर्चको हद निर्धारण गरिएको छ । जस्मा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले ३ लाख ५० हजार रुपियाँ खर्च गर्न पाउने तोकिएको छ । स्थानीय तह उपनिर्वाचनको लागि २५ ओटा दल निर्वाचन आयोगमा दर्ता भएको जानकारी आएको जिल्ला निर्वाचन कार्यालय, बाजुराले जनाएको छ ।

इन्सेक कञ्चनपुर प्रतिनिधि लिली कुँवरका अनुसार भीमदत्त नगरपालिका वडा नम्बर ६ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको छ । ०७९ सालमा सम्पन्न भएको दोस्रो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित महेन्द्र खडकाको ०८१ माघ २० गते मोटरसाईकल दुर्घटनामा परेर मृत्यु भएपछि ०८१ मङ्सिर १६ गते उपनिर्वाचन हुन लागेको हो । नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवबर खड्काले १ हजार १ सय २ मत ल्याएर विजय हुनुभएको थियो भने प्रतिस्पर्धी नेकपा एमालेका जनकराज अवस्थीले ६ सय ९८, राप्रपाका शुशिल भट्टले ४ सय ८७ र नेकपा एकीकृत समाजवादीका जितेन्द्र चन्दले २ सय ३२ मत प्राप्त गर्नुभएको थियो । भीमदत्त नगरपालिका वडा नम्बर ६ ऐठपुरस्थित शान्तिनिकेतन माविमा निर्वाचन स्थल तोकिएको छ । जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरका अनुसार ०८१ मङ्सिर २ गतेदेखि उम्मेदवारी दर्तालगायतका निर्वाचनका कार्यक्रमको तयारी गरेको छ ।

इन्सेक डोटी प्रतिनिधि सुभाष नेपालीका अनुसार पुर्बीचौकी गाउँपालिका वडा नम्बर ६ मा वडाध्यक्ष पदका लागि ०८१ मङ्सिर १६ गते उपनिर्वाचन हुने भएको छ । पुर्बीचौकी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्षको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन कार्यालय, डोटीका अनुसार ०७९ सालको निर्वाचनको आधारमा उपनिर्वाचन हुने पुर्बीचौकी गाउँपालिका वडा नम्बर ६ मा तीन मतदान केन्द्र र दुई मतदान स्थल रहेका छन् । शिशुसुधार माध्यमिक विद्यालयमा क र ख , सारदा आधारभूत विद्यालय, बास्कोटमा एक मतदान केन्द्र रहेको छ । तत्कालीन अवस्थामा रुख चिन्ह्बाट नेपाली कांग्रेसका उम्मेदवार पुस्पराज जोशीले ५ सय १३ मत प्राप्त गरेर बिजयी हुनुभएको थियो । जोशीका प्रतिस्पर्धी सुर्य चिन्ह्बाट नेकपा एमालेका उम्मेदवार देबबहादुर भन्डारीले ३ सय ८७ मत प्राप्त गर्नुभएको थियो । मतदाताहरुको अन्तिम नामावली कार्तिक २६ गते प्रकाशन गरिसकेको र वडा नम्बर ६ मा र १ हजार ५ सय ९३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, डोटीका प्रमुख लक्ष्मीराज उपाध्यायले बताउनु भयो । उपनिर्वाचनका लागि पुर्बीचौकी गाउँपालिका वडा नम्बर ६ को कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय तोकिएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको उम्मेदवारका लागि खर्चको हद समेत निर्धारण गरेको छ । जसमा वडाध्यक्ष पदका उम्मेदवारले १ लाख ५० हजार रुपियाँ मात्रै खर्च गर्न पाउने भएका छन् । उपनिर्वाचनका लागि २५ ओटा दल निर्वाचन आयोगमा दर्ता भइसकेका छन् ।

इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार कैलाली जिल्ला समन्वय समितिको प्रमुखको लागि ०८१ मङ्सिर १६ गते उपनिर्वाचन हुने भएको छ । जिल्ला समन्वय समितिका प्रमुख खगराज भुसालको दुई वर्षको कार्यकाल सकिएकाले उपनिर्वाचन हुन लागेको प्रदेश निर्वाचन कार्यलय, धनगढीका सूचना अधिकारी राजेश चौधरीले बताउनु भयो । उक्त उपनिर्वाचनका लागि निर्वाचित जनप्रतिनिधिहरुले मात्रै उम्मेदवारी दर्ता गर्न पाउने भएका छन् । उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपध्यक्ष गरी १३ स्थानीय तहका २६ जनाले मात्रै जिल्ला समन्वय समिति प्रमुखका लागि मतदान गर्न पाउने व्यवस्था  रहेको सूचना अधिकारी चौधरीले बताउनु भयो । उपनिर्वाचनका लागि प्रदेश निर्वाचन कार्यलय, धनगढीमा निर्वाचन अधिकृतको कार्यालय तोकिएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले बताउनु भयो ।

अन्य

भिडियो