मकवानपुर जिल्लाको बागमती गाउँपालिका–१, बोटगाउँ घर भइ बकैया हात्तिसुढे बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक ४० वर्षीय प्रेमबहादुर बम्जन कात्तिक २५ गते नचिनेका व्यक्तिहरूको समूहको गोली प्रहारबाट घाइते हुनु भएको छ ।
प्रधानाध्यापक बम्जनलाई कात्तिक २५ गते हरिहरपुरगढी गाउँपालिका–६ ढप्सेमा तीन जना अपरिचित व्यक्तिहरूको समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोबिन्दराज काफ्लेका अनुसार पीडित प्रधानाध्यापक बम्जनको हेल्मेटको दाहिने भाग र गाला छेडी दातमा गोली अड्केको छ ।
घटनापछि घाइतेलाई उपचारका लागि सर्लाहीको मोडेल अपस्ताल लगिएकोमा सामान्य उपचारपछि थप उपचारको लागि वीरगन्जमा रहेको बयोधा हस्पिटलमा लगिएको र उपचार भइरहेको उहाँले जानकारी दिनु भयो ।
उहाँका अनुसार घाइते प्रेमबहादुर बम्जन र उहाँका ३३ वर्षीय भाइ दिलबहादुर बम्जन प्र.२–०३–००६ प ८५५४ नम्बरको मोटरसाइकलमा रौतहटबाट सर्लाही हुँदै सिन्धुलीबाट मकवानपुरतर्फ जाने क्रममा तीन जना अपरिचित व्यक्तिहरूले ढप्सेमा रोकी गोली प्रहार गरी फरार रहेको र फरार आरोपितको खोजी कार्य भइरहेको छ ।