INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनामा प्रहरीले उजुरी दर्ता गर्न नमानेको पीडित पक्षको आरोप

जिल्लाको रुन्टीगढी गाउँपालिका-९, सखीस्थित सरस्वती आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत १० वर्षीय बालकको सोही विद्यालयका शिक्षक चन्द्रज्योती सेजुवालले कुटपिट गर्दा हात भाँचिएकोले इलाका प्रहरी कार्यालय, होलेरी र जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गर्न नमानेको पीडित पक्षको आरोप छ ।

कक्षा ५ मा अध्ययरत बालक शौचालय निस्कने क्रममा शिक्षक सेजुवालले ०८१ भदौ ६ गते किन बाहिर निस्केको भन्दै टाउकोमा समाई हुत्याएर फल्दा पक्की पिँढीमा बज्रिन पुगि देब्रे हात बाँचिएको बालकका बुबा रेशमबहादुर विश्वकर्माले बताउनु भयो । आरोपित शिक्षक सेजुवाल र सोही विद्यालयको प्रधानाध्यापक नरेन्द्र डिसीले घटनाबारे बाहिर कुरा नलैजान भन्दै उपचार गर्न १० हजार दिएका थिए । तर उक्त रकमले नपुगेपछि थप रकम समेत शिक्षक सेजुवाले बेहोरेको थिए । बालकको नेपालगञ्ज वेयस्टन हस्पिटल प्रालिमा अपरेश गरी हातमा दुई ओटा रड समेत राखिएको बालकका बुबाले जानकारी दिनुभयो ।

शिक्षकको कुटपिटबाट बालकको हात भाँचिएको दुई महिना बितिसक्दा समेत प्रहरीले जाहेरी दर्ता गर्न नमानेको बालकको बुबा रेशमबहादुरको भनाइ छ । बालकका बुबा पटकपटक इलाका प्रहरी कार्यालय, होलेरी र जिल्ला प्रहरी कार्यालयमा धाउँदा समेत प्रहरीले जाहेरी दर्ता नगरेको रेशमबहादुरले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय, होलेरीमा जाहेरी दर्ता गर्न नमानेका इन्स्पेक्टर रोहितकुमार शाही सरुवा भएर जिल्ला प्रहरी कार्यालयमा आएको र जिल्ला प्रहरी कार्यालयमा आउँदा समेत इन्स्पेक्टर शाहीले निवेदन दर्ता हुँदैन भन्दै आफूलाई फर्काएको रेशमको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोहितकुमार शाहीले कुटपिट घटनाको जाहेरी आफूहरूले दर्ता गर्न नमिल्ने भन्दै गैरजिम्मेवारी अभिव्यक्ति दिनुभयो । शिक्षकले उपचार खर्च सबै तिरी सकेको उहाँको भनाइ छ ।

अन्य

भिडियो