INSEC Online

📅 २०८३ जेष्ठ २१

लेकम गाउँपालिकाद्वारा वडामै सामाजिक सुरक्षा भत्ता वितरण !

लेकम गाउँपालिकाले तिहार नजिकिएसँगै वडा कार्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बैंकसम्म पहुँच नभएका ज्येष्ठ नागरिक तथा असक्तहरुको सहजताका लागि वडामा पुगेर गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

गाउँपालिकाले लक्ष्मी सनराइज बैंकसँगको समन्वयमा पाँच ओटा वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको एमआइएस अपरेटर प्रकाश विष्टले जानकारी दिनु भयो । सनराइज बैंक हाल वडा नम्बर ५ चौपातामा मात्रै सञ्चालनमा रहेको छ । ६ ओटा वडा रहेको लेकम गाउँपालिकाका अन्य वडाहरुमा सडक पहुँच पुगेको छैन् ।

photo20241025darchula (1)

सडक नहुँदा लाभग्राहीले बैंकसम्म पुगेर सामाजिक सुरक्षा भत्ता लिन नसक्ने अवस्था आएपछि गाउँपालिका र बैंकका कर्मचारी वडामै पठाएर सामाजिक सुरुक्षा भत्ता वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष माधवी जोशीले बताउनु भयो ।

गाउँपालिकाले ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल महिला, क र ख बर्गका अपाङ्गता भएका व्यक्ति र दलित बालबालिकाले पाउने सामाजिक सुरक्षा भत्ता वडामै वितरण गरेको उपाध्यक्ष जोशीले बताउनु भयो ।

photo20241025darchula (2)

गाउँपालिकाका एमआइएस अपरेटर विष्टका अनुसार वडा नम्बर १ मा १ सय ५० जना, वडा नम्बर २ मा २ सय ३ जना, वडा नम्बर ३ मा १ सय ३८ जना, वडा नम्बर ४ मा १ सय ४३ जना र वडा नम्बर ६ मा १ सय २४ जना गरी ७ सय ५८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

यसैगरी गाउँपालिकाले ४४ जना एकल पुरुषलाई समेत मासिक ५ सय रुपियाँका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । गत वर्षबाट गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा उपलब्ध गराउन लागेको निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशीले बताउनु भयो ।

photo20241025darchula (3)

आफूहरुले पाउनु पर्ने ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता जनप्रतिनिधि, कर्मचारी र बैंकका प्रतिनिधि आएर वडामै वितरण गरेपछि सबै जनालई खुःसी लागेको लेकम गाउँपालिका–१ का ज्येष्ठ नागरिक मानबहादुर बोहराले बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘भत्ता लिन बैंकसम्म जान सक्ने अवस्था छैन् । वडामै पुगेपछि हामीलाई पनि स्थानीय सरकारले राहत दिएको अनुभूति भएको छ ।’

वडाबाटै भत्ता वितरण गरिएपछि चार / पाँच घण्टा हिडेर बैंकसम्म पुग्नु पर्ने बाध्यता हटेको लेकम गाउँपालिका–२ का जानकी जोशीले बताउनु भयो । ज्येष्ठ नागरिकलाई बैंक पुग्न निकै सास्ती हुनेगरेकोमा  गाउँपालिकाले यस पटक सामाजिक सुरक्षा भत्ता वडामै वितरण गर्ने व्यवस्था मिलाउदा सहज भएको उहाँको भनाइ ।

photo20241025darchula (6)

लेकम गाउँपालिकाका अधिकांश वडाका बस्ती निकै टाँढा छन् । बस्तीबाट वडा कार्यालयसम्म पुग्न पनि दुई / तीन घण्टा हिड्नु पर्ने अवस्था छ, लेकम गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष सुरेशसिंह थापाले भन्नुभयो, ज्येष्ठ नागरिकलाई बैंकसम्म गएर सामाजिक सुरक्षा भत्ता ल्याउन सास्ती र पीडा हुने भएकोले वडामै वितरण गर्ने गरिएको छ ।

लेकम गाउँपालिकाले ०८१ कात्तिक ४ गतेबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेकोमा कात्तिक ९ गते सबै वडामा वितरण कार्य सम्पन्न भएको वडाध्यक्ष थापले बताउनु भयो ।

photo20241025darchula (4)

 

अन्य

भिडियो