बेलका नगरपालिका-८ डुडखोलाकी ४० वर्षीया पूर्णकुमारी राईलाई पेट्रोल छर्किएर आगो लगाइ हत्या गरेको आरोपमा प्रहरीले ४८ वर्षीय पति दानबहादुर राईलाई कात्तिक ५ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा आरोपितले ०८१ असोज २२ गते पूर्णकुमारीलाई पेट्रोल छर्किएर आगो लगाइ गम्भीर घाइते बनाएका थिए ।
आरोपित बाबुविरूद्ध १९ वर्षीय छोरा एम्बुलाल राईले असोज २९ गते इलाका प्रहरी कार्यालय, रामपुरमा उजुरी दिएका थिए ।
घाइते आमाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा उपचारका क्रममा कात्तिक ४ गते मृत्यु भएको छोरा एम्बुलाल राईले बताउनु भयो ।
उजुरीलगतै फरार भएका आरोपितलाई बेलका नगरपालिका-८ कोठुस्थित आफन्तको घरमा लुकेर बसेको अवस्थामा दानबहादुरलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, रामपुरका इन्स्पेक्टर उमेशकुमार मेहेताले बताउनु भयो ।
शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा कात्तिक ४ गते गरिएको छ ।
पीडित पक्षले सोही दिन शव बुझी बेलका नगरपालिका-८ डुडखोलामा सद्गत गरेको छ ।