INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनामा संलग्नहरूको खोज्न माग गर्दै प्रदर्शन र चक्का जाम

आठ वर्षीया बालिका बलात्कार घटनामा संलग्नहरूको खोजी नगरिएको भन्दै स्थानीयले प्रदर्शन सँगै पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुबाङमा राजमार्ग अवरुद्ध गरेका छन् ।

घटना भएको १२ दिन बितिसक्दा पनि संलग्नहरू पत्ता नलागेको र प्रहरी प्रशासनले नै ढाकछोप गर्न लागेको आरोप लगाउँदै राप्ती गाउँपालिका–१, भालुबाङका स्थानीयले कात्तिक ५ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म राजमार्ग नै अवरुद्ध गरेका हुन् । राप्ती उद्योग वाणिज्य सङ्घको अगुवाइमा प्रदर्शनसहित चक्का जाम गरिएको स्थानीय महेश रिजालले जानकारी दिनुभयो । एक्कासी राजमार्ग अवरुद्ध हुँदा गन्तब्यमा हिँडेका दर्जनौँ सार्वजनिक यातायात तथा ढुवानीका साधन सडकमै अलपत्र गरेका थिए । यस अघि घटनामा संलग्नहरूको खोजीको माग गर्दै स्थानीयले दिनहुँ प्रदर्शन गर्दै सङ्घर्ष समिति समेत गठन गरेका थिए ।

सशस्त्र प्रहरी ज्वालामाइ गण भालुवाङ नजिकै बनाइएको लिङ्गे पीङ खेल्न जानुभएकी आठ वर्षीया बालिकालाई ०८१ असोज २४ गते नजिकै केराघारीमा लगेर बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । तर प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाए पनि संलग्नहरू पत्ता लगाउन नसकेको जिल्ला प्रहरी कार्यालयका एसपी अर्जुनकुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै अधिकारकर्मी

बालिका बलात्कार घटनामा संलग्नहरूको खोजी गर्ने काममा प्रहरी प्रशासनकै भूमिकामाथि प्रश्न उठेको दाङका मानव अधिकारकर्मीहरूले बताएका छन् । मानव अधिकारकर्मीहरूले कात्तिक ५ गते संयुक्त विज्ञप्ति जारी गर्दै सशस्त्र प्रहरीको गण नजिकै नाबालिका बलात्कार हुनु र १२ दिनसम्म पनि घटनामा संलग्नहरू पत्ता नलाग्नु रहस्यमय भएको भन्दै प्रहरी प्रशासनलाई गम्भीर भएर खोजबिन गर्न माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला प्रतिनिधि, मानव अधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्मा, महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी संस्थापक लक्ष्मी आचार्य, अपाङग मानवअधिकार एवम् सरोकार मञ्चकी अध्यक्ष देवका खनाल, नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठ, नेपाल सेतो गुराँस बाल विकास केन्द्रकी सचिव सरस्वती सुवेदीलगायतले संयुक्त विज्ञप्ति निकालेर घटनामा संलग्नहरूको तत्काल खोजी गरी कारवाही गर्न र पीडितलाई न्याय दिन माग गर्नुभएको छ ।

Photo21102024Dang1
बालिका बलात्कार घटनामा संलग्नहरूलाई गिरफ्तारको माग गर्दै प्रदर्शन तथा पूर्व-पश्चिम राजमाग अवरुद्ध गर्दै स्थानीय । फोटोः जयनारायण पुन

अन्य

भिडियो