INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेक महोत्तरी प्रतिनिधिको पहलमा उजुरी

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरी जिल्ला प्रतिनिधि ममता विश्वकर्माको पहलमा अन्तरजातीय विवाह घटनाकी पीडित सप्तरी जिल्ला खडक नगरपालिका-४ पन्सेरा टोलकी २२ वर्षीया आरती पासवानको उजुरी ०८१ कात्तिक २ गते जिल्ला प्रहरी कार्यालय महोत्तरी अन्तरगत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दर्ता भएको छ ।

इन्सेक महोत्तरी प्रतिनिधि विश्वकर्माको पहलमा महोत्तरीको पिपरा गाउँपालिका–४ सहोड्वाका २५ वर्षीय मनिष कुमार साह, निजका बुवा ५० वर्षीय दोमन साह, आमा ४७ वर्षीया मञ्जु देवी साह र हजुरबुवा ७२ वर्षीय परिक्षण साहविरुद्ध ०८१ कात्तिक २ गते उजुरी दर्ता भएको हो ।

पीडितको विवाह महोत्तरी जिल्ला पिपरा गाँउपालिका-४ सहोड्वाका मनिष कुमार साहसँग भदौ १८ गते धनुषा जिल्लाको जनकपुरधामस्थित भमरपुरामा अवस्थित शिव मन्दिरमा अन्तरजातीय पे्रम विवाह भएको थियो । विवाहपश्चात युवतीलाई साहले आफ्नो घर लगेपनि घरपरिवारका सदस्यहरूले तल्लो जातको युवतीलाई ल्याएको भन्दै घरभित्र प्रवेश गर्न नदिएको पीडितले इन्सेक महोत्तरी प्रतिनिधिलाई बताउनु भयो ।

“दुसाद तथा पासवान जस्तो पानि नचल्ने तल्लो जातको छोरी हाम्रो घरको बुहारी भए हाम्रो कुल देवता रिसाउने र समाजमा बेइज्जत हुने” भन्दै अमानवीय व्यवहार गरेको पीडितले बताउनु भयो ।

“साहका परिवारले मलाई तल्लो जातकै कारण बुहारी अस्विाकार गरेपछि असोज १२ गते साहले मलाई जनकपुरधामस्थित होली डे गेष्ट हाउसमा लगि, एक्लै छाडी भागेको र फोन मार्फत अब कुनै सम्बन्ध नरहेको बताएको” पीडितले इन्सेक महोत्तरी प्रतिनिधिलाई जानकारी दिनु भयो ।

साहले ललाई फकाई प्रेम जालमा पारी विवाह गरेको र दलित भएकै कारण आफूलाई उनका घर परिवारले अस्वीकार गरेपछि विचल्लीमा पारी भागेको भन्दै न्यायका लागि पहल गरिदिनुहुन भनि पीडितले आग्रह गरेपछि आरोपितहरूविरुद्ध उजुरी प्रक्रियामा सहयोग गरेको इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि ममता विश्वकर्माले बताउनुभयो ।

विचल्लिामा परेपछि पीडित माइतमा बस्दै आएको पीडितकी आमा कुन्ता देवी पासवानले बताउनु भयो ।

अन्य

भिडियो