INSEC Online

📅 २०८३ जेष्ठ २१

डाक्टरलाई धम्की दिएको आरोपमा अर्का डाक्टर बर्खास्त

बागलुङको धौलागिरी अस्पतालमा कार्यरत डाक्टर आशिष सापकोटालाई धम्की दिने सोही अस्पतालका डा.नन्दनप्रसाद शाहलाई बर्खास्त गरिएको छ । अस्पताल व्यवस्थापन समिति, प्रशासन र पीडित पक्षबिच कात्तिक २ गते गरिएको छलफल पश्चात शाहलाई बर्खास्त गरिएको मेडिकल सुपरिटेण्डेण्ट रविरञ्जन प्रधानले जानकारी दिनु भयो ।

दशैँको समयमा ‘ड्युटी’मा खटिएका डाक्टर सापकोटालाई धम्की दिएपछि विवादमा तानिनु भएका शाहलाई कात्तिक २ गते बर्खास्त गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

शुक्रबार बसेको पीडित डाक्टर सहित अन्य डाक्टर, स्वास्थ्यकर्मी, कर्मचारी र व्यवस्थापन समितिको बैठकले बर्खास्त गर्ने निर्णय गरेको प्रधानले बताउनु भयो । डा. शाहले सापकोटालाई दशैँको दिन आक्रमण गर्ने सम्मको धम्की दिएको आरोप लागेको थियो ।

डा. शाहले सापकोटालाई धम्की दिएपछि अस्पतालका कर्मचारीहरूले सहकर्मीबाट नै असुरक्षा बढेको भन्दै अस्पताल व्यवस्थापन समिति र मेडिकल सुपरिटेण्डेण्टलाई ध्यानाकर्षण गराएका थिए ।

डा.किरण तिवारी सहितको १५ जना चिकित्सक र स्वास्थ्यकर्मीले अतिरिक्त समयमा खटिएका डाक्टरमाथि उल्टै सेवा दिन नसक्ने डाक्टरले धम्काएको भन्दै डाक्टर शाहलाई कारवाही गर्न माग गर्दै ध्यानाकर्षण गराएका थिए । कारवाही नभए स्वास्थ्य सेवा ठप्प पार्ने उनीहरूको चेतावनी थियो ।

अन्य

भिडियो